चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव रेन्ज पोस्ट नजिकं माघ ३ गते गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । घटना भएको छ दिनपछि उनको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा माडी-७ किर्तनपुर निवासी ५५ वर्षीय शिवराज भण्डारी रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ६ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बागमती प्रदेश ०६–००३ प ४३३९ नम्बरको मोटरसाइकलमा भरतपुरबाट माडीतर्फ जाँदै गरेका भण्डारीलाई माघ ३ गते दिउँसो साढे २ बजेको समयमा गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई सुरुमा भरतपुर अस्पताल पठाइएको थियो ।
थप उपचारको लागि उनलाई चितवन मेडिकल कलेज ल्याइएको थियो ।