चितवन। चितवनका दलित आन्दोलनका अगुवा स्व.अम्बिका परियारको ७ औं दिनको स्मृतिमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवन(नाडजोन चितवन) ले आज शोकसभा सम्पन्न गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं १५, फुलबारी बस्दै आएका परियारको गत पुष २९ गते भरतपुर अस्पतालमा उपचारको क्रममा ७८ वर्षको उमेरमा निधन भएको हो ।
संघका चितवन जिल्ला अध्यक्ष श्याम वि.कको अध्यक्षतामा आयोजित शोकसभामा संघिय सांसद रणेन्द्र बरालीको प्रमुख आतिथ्यता रहेको थियो । स्व. परियार दलित आन्दोलनका अगुवा रहेको संस्मरण गर्दै सांसद बरालीले उहाँको स्मृतिमा आफूले छुट्टै अक्षय कोषको स्थापना गर्न भूमिका निर्वाह गर्ने बताए।
आज आयोजित शोकसभामा संघका संस्थापक अध्यक्ष एवम् केन्द्रीय पार्षद अमिर रामदामले “जन्म र मृत्यु प्राकृतिक नियम भएपनि मान्छेको निधनले निकै मर्माहत बनाउँछ”, त्यसैले परियारको निधनले चितवनको दलित संघर्ष र आन्दोलन ठूलो क्षति पुगेको बताए । स्व.परियार राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमति प्रदेश पार्षद अतिना परियारको हजुरबुबा हुनुहुन्थ्यो।
शोकसभाको सहजीकरण संघका बागमति प्रदेश पार्षद गोपाल विश्वकर्माले गरेका थिए ।

