चितवन। चितवनमा दुइवटा महाेत्सव जारी छन् । तर ती दुईवटै महाेत्सवकाे विशेषता फरक छ । नारायणी नदी किनारमा चितवन महाेत्सव र खैरहनीकाे गाैचरणमा खिचरा महाेत्सव । एउटा महाेत्सवले अर्काे महाेत्सवलाई असर गरेकाे देखिदैन । चितवन महाेत्सवकाे तुलनामा खिचरा महाेत्सव केही सानाे भएपनि त्यसकाे आफ्नाै महत्व रहेकाे छ ।
खिचरा आदिमकाल देखि चितवनमा बस्दै आएका आदिवासी थारु समुदायकाे परम्परागत संस्कृति झल्किने महाेत्सव हाे । खिचरा महाेत्सवमा थारु मिनीगाँउ, घाेँगी र चिचरकाे प्रतिमा बनाइएकाे छ । थारु संस्कृति हेर्न, सामग्री किनमेल गर्न र सांस्कृतिक कार्यक्रममा रमाउन अबलाेकनकर्ताहरुकाे दैनिक रुपमा भीड लाग्ने गरेकाे महाेत्सवकाे आयाेजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का अध्यक्ष तथा महाेत्सवका संयाेजक रामेश्वर चाैधरीले बताए ।
महाेत्सव अन्तर्गत माघ ५ गते दर्शकहरूको लागि विशेष उत्साहजनक दिन हुने अपेक्षा गरिएकाे छ । शनिबारको कार्यक्रम महोत्सवको इतिहासमै दर्शकहरूको सहभागिता र रौनकको नयाँ कीर्तिमान बनाउने विश्वास गरिएको संयाेजक चाैधरीले बताए । शनिबार महोत्सवमा राष्ट्रिय स्तरका एक दर्जनभन्दा बढी चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । विशेष आकर्षणका रूपमा गायक सविन राई र फारवाह ब्याण्ड, जयन एण्ड मित्र, निर्देशक नायक तथा गायक निश्चल बस्नेत, लोकप्रिय नायक प्रदीप खड्का, नायिकाहरू अन्ना शर्मा र दिव्या राईमाझी, साथै रत्ननगर कला मन्दिरका कलाकारहरूले सांस्कृतिक प्रस्तुति रहने छ ।
महोत्सवको दोस्रो दिनको रेकर्डलाई शनिबार ब्रेक गर्ने विश्वास समितिले व्यक्त गरेको छ । मौसम अनुकूल रहँदा, उत्साहित दर्शकहरूको भीडले महोत्सवलाई थप ऊर्जा दिनेछ । संयोजक चौधरीले भने, “शनिबार विशेष भएको कारण महोत्सवले नयाँ उचाइमा दर्शकहरूको सहभागिता पाउनेछ।” राष्ट्रिय स्तरका कलाकारहरूका प्रस्तुति र मनोरञ्जनको लागि आयोजक समितिले विशेष तयारी गरेको छ । महोत्सवले स्थानीय तथा राष्ट्रिय सांस्कृतिक परम्परालाई जगेर्ना गर्दै दर्शकलाई मनोरञ्जन र थारु समुदायको मौलिकतालाई उजागर गर्ने अवसर प्रदान गरिरहेको छ ।
शनिबारको कार्यक्रमलाई महोत्सवको मुख्य आकर्षण बनाउँदै आयोजकहरूले चितवनलगायत देशभरका दर्शकलाई उपस्थित हुन आग्रह गरेका छन् । माघ ५ शनिबार, दशौं खिचरा महोत्सवको इतिहासमै अविस्मरणीय दिन बन्ने निश्चित रहेको आयोजकको विश्वास छ ।

