चितवन । कोभिडका कारण बेरोजगार बनेका सौराहाका चारसय होटल मजदुरलाई रोजगारी उपलब्ध गराईएको छ । नेपाल पर्यटन बोर्ड, युएनडीपी र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालित जिविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत १० दिनको लागी रोजगार दिईएको हो । उनीहरूलाई पर्यटकीय पार्क निर्माण र नदी सरसफाइमा रोजगारी दिइएको रत्ननगरनगरपालिकाले जानकारी दिएको छ ।
रत्ननगरका मेयर नारायण वनले सो कार्यक्रमको मंगलबार(आज) औपचारिक रुपमा उद्घाटन गरेका हुन्। यो योजनामा सौराहाको राप्ती किनारमा रहेको सौराहा भिजिटर सेन्टर नजिक पार्क निर्माण सुरू गरिएको छ। सो ठाउँमा झाडी फाँडेर तलाउ बनाइने छ। यो सँगै तलाउ माथिबाट राप्तीको ड्याकमा जाने गरी काठको आकर्षक पुल निर्माण गरिने मेयर वनले जानकारी दिए । उनका अनुसार भिजिटर सेन्टरमा आकर्षक बगैँचा बनाइने छ। सोही ठाउँमा सार्वजनिक शौचालय, बस्ने ठाउँलगायतका निर्माणका काम हुने छन्। बेरोजगार रहेका मजदुरलाई काम काम दिएर सौराहा किनारलाई आकर्षक बनाउनुका साथी पर्यटकीय क्षेत्रमा आयाम थपिने वनको भनाई छ ।
होटल मजदुरहरूलाई पार्क निर्माण, काठको पुल तथा राप्ती, बुढीराप्ती, ढुंग्रे तथा सौराहा निकटमा रहेको कयर खोला सरसफाइमा लगाइने छ। नेपाल पर्यटन बोर्ड र युएनडीपीको ४८ लाख र नगरपालिकाको १२ लाख गरी ६० लाखको लगानीमा होटल मजदुरलाई रोजगारी दिइएको हो। होटल, रेष्टुरेन्ट र गाइड पेसामा संलग्न रहेका र सौराहा बन्द भएपछि रोजगारी गुमाएका मजदुरहरूलाई काममा लगाइएको छ।
एक व्यक्तिले प्रतिदिन एक हजार रूपैयाँका दरले १० दिन काम गर्न पाउनेछन्। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले सौराहाका होटल तथा रेष्टुराँमा पाँच हजार ५०० मजदूरले काम गर्दै आएकोमा कोरोनाका कारण मजदूरहरूले अझै पनि काम नपाएको र अधिकांश बिदामा रहेको बताए ।
भिजिटर सेन्टरसँगै बन्न लागेको तलाउमा उद्धार गरिएका गोहीलाई छाडिने छ। त्यहाँ विभिन्न प्रकारका माछा पनि राखिने भएको हुँदा यसले पर्यटक थप आकर्षित हुने संघका अध्यक्ष भट्टराईले बताए। पर्यटकीय क्षेत्र थप रमणीय बनाउँदै मजदूरलाई काम दिने गरी सुरू गरिएको योजनाले होटल मजदूरलाई केही राहत पुग्ने भट्टराईले बताए। यो संँगै नगरपालिकाले भिजिटर सेन्टर नजिकै राप्तीको डिलमा १२० मिटर लामो पैदलमार्ग निर्माण गरिरहेको छ।
राप्ती नदी किनारमा बसेर सूर्यास्त र चितवन राष्ट्रिय निकुञ्जको रमणीय दृश्य हेर्न सकिने गरी पथ निर्माण गरिएको हो। यहाँबाट राप्ती नदीमा खेलिरहेका गोहीसमेत देख्न सकिन्छ। सो पथमा तीनवटा ठूल्ठूला ढुङ्गासमेत राखिएको छ। ती ढुङ्गामा संरक्षणका क्रममा ज्यान गुमाएका तल्लो तहका कर्मचारी र पर्यटनकर्मीको आकृति समेत कुँदिने बताईएको छ। हाल भुइँमा ढुङ्गा बिच्छ्याउने काम भइरहेको छ।
छेउमा काठको रेलिङ रहने छ भने सो रेलिङमा जुटको डोरी बाँधिने बताईएको छ।
वडा नं ६ का वडाध्यक्ष बलराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष राजन भट्ट, परियोजनाका निर्देशक मणिराज लामिछाने, चितवन निकुञ्ज सौराहा सेक्टरका प्रमुख प्रकाश उप्रेती, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा, नेचर गाइड एसोसियसन चितवनका अध्यक्ष राजेन्द्र धामीलगायतले यस बिषयमा धारणा राखेका थिए ।

