चितवन । समृद्धिका लागि युवा अभियान, माडीले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र (बफ्फरजोन)को निर्वाचन बहिष्कार गर्न सार्वजनिक अनुरोध गरेको छ ।
सोमबार माडीमा सम्पन्न अभियानको बैठकले निकुञ्ज एवं मध्यवर्ती सम्बन्धी ऐन नियमहरुका कारण माडीका जनता र स्थानीय सरकार समेतले अनेकन समस्या झेल्नु परिरहेको उल्लेख गर्दै मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरुको निर्वाचन प्रक्रियामा सहभागी नहुन आम उपभोक्ताहरुलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
निकुञ्ज ऐन र मध्यवर्ती व्यवस्थाका कारण माडीबासी जनता र माडी नगरपालिकाले भोग्नु परिरहेका समस्याहरु हल नगरी अहिलेकै अवस्थामा निर्वाचन गर्न खोजे प्रतिरोध गर्नुका साथै चुनावमा उठ्नेलाई सामाजिक बहिष्कार गर्नेसम्मको कार्यक्रम तय गर्ने अभियानले जनाएको हो ।
मौजूदा निकुञ्ज ऐन र मध्यवर्ती सम्बन्धी व्यवस्थाकै कारण बर्षौंदेखि बसिआएको र नगरपालिकामा बहाल बिटौरी कर तिरेको जमीनको पनि जनताले लालपूर्जा पाउन नसकेको, सेतो पुर्जा बनेका गरीब किसानहरुले पनि लालपूर्जा पाउन नसकेको, हनुमानझुलाले न्याय पाउन नसकेको तथा जंगली जनावरले बालीनाली खाइदिँदा उचित क्षतिपूर्ति पाउन नसकेको अभियानले औंल्याएको छ ।
यसबाहेक निकुञ्ज ऐन र मध्यवर्ती सम्बन्धी व्यवस्थाकै कारण माडी नगरपालिकाले आफ्नै विकास निर्माणमा प्रयोग गर्न यहाँका खोलाका गिट्टी ढुंगा बालुवा निकाल्दा निकुञ्जलाई रोयल्टी दिनुपरेको तर प्राकृतिक प्रकोपको हानी स्थानीय स्वयंले ब्यहोर्नु पर्ने दर्दनाक अवस्था माडीले भोग्दै आएको साथै माडीबाट घरायसी तरकारी, निउरो, घरायसी तामा, माछा, घरेलु खाट, पलङ्ग दराज लैजान नपाउने अवस्था रहेको समस्या समेत औंल्याइएको छ ।
यसैगरी, निकुञ्ज ऐन र मध्यवर्ती सम्बन्धी व्यवस्थाकै कारण संविधानले दिएको स्थानीय सरकारको अधिकार पूणर्रुपमा पालन हुन नसकेको, निकुञ्जभित्र बाटो बन्न नसकेको साथै निकुञ्जभित्र बैंकल्पिक केबुल बिछ्याउने टेण्डर रद्द हुन पुगेको समेत औंल्याउँदै अभियानले मध्यवर्तीका कार्यालयहरुको आर्थिक पारदर्शिता महसुस नभएको समेत आरोप लगाएको छ ।