काठमाडौँ। सम्पत्ति शुद्धीकरणको मुद्दासमेत थपिएका सहकारी ठगी र संगठित अपराधका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौंमा पनि ल्याइने भएको छ । उनीसमेतविरुद्ध काठमाडौंको कालीमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत अपचलन गरेको आरोप छ ।
काठमाडौं जिल्ला अदालतले लामिछानेसहितलाई स्वर्णलक्ष्मीको बचत ठगीमा अनुसन्धान गर्न प्रहरीलाई यसअघि नै अनुमति दिइसकेको छ । स्वर्णलक्ष्मीको २ अर्ब ६५ करोड ९५ लाख ५२ हजार ५८ रुपैयाँ बचत ठगी भएको खुलेको छ । त्यही भएर लामिछानेलाई छानबिनका लागि काठमाडौं ल्याइने भएको एक जना प्रहरी अधिकृतले जानकारी दिए ।
उनका अनुसार त्यसअघि लामिछानेलाई बुटवल लगिने भएको छ । त्यहाँ उनको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा भएको सहकारी ठगी प्रकरणमा बयान हुनेछ । हाल उनी पोखरामा छन् । त्यहाँको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा भएको बचत ठगीमा उनको संलग्नता रहेको आरोप छ । २ कात्तिकको साँझ उनलाई काठमाडौंको वनस्थलीस्थित पार्टी कार्लालयबाट प्रहरीले पक्राउ गरी ३ कात्तिकको बिहानै पोखरा पुर्याएको थियो । अब भने उनलाई तिहार बिदापछि अदालत खुल्नेबित्तिकै बुटवल लगिने भएको हो ।
त्यसपछि उनलाई सहारा बचत तथा ऋण सहकारी संस्थामा भएको सहकारी ठगी प्रकरणमा बयानका लागि चितवन लगिने भएको छ । त्यसपछिचाहिँ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको सहकारी ठगी प्रकरणमा बयानका लागि काठमाडौं ल्याइने भएको प्रहरीले जनाएको छ ।
सानो पाइला बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा वीरगञ्ज लान्छन् कि लाँदैनन् ? त्यो भने निश्चित भइसकेको छैन । तर, रास्वपा सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई काठमाडौंदेखि पोखरा, त्यहाँदेखि बुटवल अनि चितवनहुँदै काठमाडौं ल्याइने भएको छ ।
लामिछानेले भने आफूमाथि लागेको सहकारी ठगीको आरोपलाई सिधै अस्वीकार गर्दै आएका छन् । संगठित ठगीमा पनि आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् । तर, २ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ पर्नुअघि जारी गरेको भिडियो सन्देशमा आफूूमाथि लागेको आरोपबारे छानबिनका लागि हुने न्यायिक प्रक्रियामा सघाउने प्रतिबद्धता जनाएका थिए । हाल उनी न्यायिक प्रक्रियामा छन् । यद्यपि, गुनासो गर्दै लामिछानेले भनेका थिए, ‘मलाई फसाउन खोजियो ।’
पोखरा पुगेर पनि उनले आफूलाई षड्यन्त्रपूर्वक ढंगले फसाउन खोजिएको भन्दै सरकारप्रति रोष प्रकट गरेका थिए । उनी नेतृत्वको दल रास्वपा उनको पक्राउलगत्तैदेखि प्रदर्शनरत छ । यसबीचमा तिहार, म्हःपूजासँगै नेपाल संवत् र छठ पर्व रहेकाले रास्वपाको प्रदर्शन स्थगित छ । चाडबाड सकिएलगत्तै प्रदर्शन गर्ने तयारीमा रास्वपा छ ।
रास्वपाले आफ्नो सभापति लामिछानेको पक्राउलाई राजनीतिक प्रतिशोध भनेको छ र सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ । सत्तारुढ कांग्रेस र एमालेले भने रास्वपाले गर्दै आएको प्रदर्शनलाई विधिको शासनविरुद्धको हर्कतको रूपमा अर्थ्याएका छन् । न्यायिक प्रक्रिलाई अवरुद्ध पार्ने प्रयास नगर्न चेतावनी पनि दिँदै आएका छन् ।
लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा अभियोग लागेका छन् । उनले भने गीतेन्द्रबाबु राई (जीबी राई) ले गरेको गैरकानुनी कार्यको जिम्मेवार आफू नहुने भन्दै आएका छन् । तर, गत ४ असोजमा सत्तारुढ दल एमालेका सांसद सूर्य थापा संयोजक रहेको सहकारी ठगी प्रकरण छानबिन गर्न गठित संसदीय समितिले गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी ढंगले जीबी राईले लगेको बचत रकम अपचलनमा रविको संलग्नता रहेको ठहर गरेको छ । त्यससँगै कानुनअनुसार रविसमेतलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।
अन्ततः २ कात्तिकमा रवि पक्राउ परे । हाल कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुटवल लगेर त्यहाँबाट चितवनहुँदै काठमाडौं ल्याइने तयारीमा प्रहरी जुटेको छ । लामिछानेसँगै उनका पूर्वव्यावसायिक साझेदार छविलाल जोशी (पूर्वडीआईजी)लाई पनि प्रहरीले अन्तिममा काठमाडौं ल्याउने भएको छ ।