चितवन। काठमाडौँ सामाखुसीस्थित रानीबारी घर भएका ३० वर्षका रोशन थापा गत बुधबारदेखि चितवनबाट बेपत्ता भएका छन्।
चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिनस्थित मामाघर आएका रोशन त्यहीँबाटै बेपत्ता भएका हुन्।
आमा तथा मामाकी आमा हजुरआमाको मृत्यु भएपछि मामाघर पुगेका उनी मामाघरबाटै हराएको रोशनका बुवा रेशम थापाले बताए।
गत असोज २६ गते रोशनकी हजुरआमा ८६ वर्षीया अम्बिकादेवी बुढाथोकीको मृत्यु भएको थियो।
त्यसपछि आफ्नी आमा रमा बुढाथोकीलाई मोटरसाइकलमा लिएर रोशन मामाघर गएका थिए। त्यसयता उनी आफ्नो घर र मामाघर आउजाउ गरिरहेका थिए। यसै क्रममा उनी मामाघर गएका बेला यही कात्तिक ७ गते बुधबारदेखि एकाएक बेपत्ता भएको बुवा रेशम बताउँछन्।
रेशमका अनुसार पहिल्यैदेखि डिप्रेसनका रोगी रोशन हजुरआमाको मृत्युको शोकले थप तनावमा परेका थिए।
‘घरमा झगडाहरू केही भएको थिएन, उनले नेपालखबरसँग भने, ‘हजुरआमाको शोकले टोलाइरहने भएको थियो रे ! म त घरमै थिएँ। उसकी आमासँग आएको थियो। बाबु हरायो भन्ने कुरा त मैले हराएको भोलिपल्ट अर्थात् बिहीबार मात्रै थाहा पाएँ।’
छोरा हराएपछि परिवारले प्रहरीदेखि चिनेजानेका सबै आफन्तसँग खोजीका लागि आग्रह गरेको रेशमले बताए।
आमा रमा भने हरेक दिन बिहान उठेर मर्निङवाकमा जाने भएकाले त्यस दिन पनि रोशन मर्निङवाकमै गयो होला भन्ने सोचेर बिहान खोजी नै नगरेको बताउँछिन्।
‘आमाको जुठो बारेको १२औँ दिन भएको थियो। हामी सबै काम सकाउने चटारोमा थियौँ। आउला नि भनेर बिहानभर त खोजी गरिएन, रमाले नेपालखबरसँग भनिन्, ‘बिहान साढे ५ बजेतिरै ओछ्यानमा रैनछ। आइहाल्छ नि भन्ने लाग्यो। तर दिनभर पनि आइपुगेन। मोबाइल, पैसा केही लगेको थिएन। मोटरसाइकल पनि घरमै छोडेको छ।’
रमाका अनुसार रोशन ४ वर्ष अमेरिका बसेर भर्खरै नेपाल आएका थिए। ३ वर्षअघि नेपाल आएका उनमा डिप्रेसन रहेको उनले बताइन्।
‘डिप्रेसनको औषधि खाइरहेका रोशन सानातिना दुख देखे पनि पीर मान्ने, झोक्राउने गर्थे। सबै ठिकै थियो। हजुरआमाको दाहसंस्कारदेखि मामाहरू किरिया बसेको देख्यो। हजुरआमालाई निकै माया गर्थ्यो। त्यही सहन नसकेर होला खाना नखाने, टोलाउने भइरहेको थियो, रमाले भनिन्, ‘८ गते बिहीबार काम सकिन्थ्यो। त्यही दिन काठमाडौँ फर्किएर उपचार गराउँछु भन्ने सोचेको थिएँ। तर अघिल्लो दिन नै बावु हरायो।’
काठमाडौँ हुँदा पनि कोही कोही बेला दिनभर हराउने, कहिले ३/४ घण्टा हराउने गरेको आमा रमा बताउँछिन्। तर यसरी धेरै दिनसम्म भने कहिल्यै घर छाडेर नहिँडेको उनको भनाइ छ। श्रीमान्ले दोस्रो विवाह गरेपछि २० वर्षदेखि दुई छोराको साथमा आफू बस्ने गरेको रमाले बताइन्।
आफ्नो छोरालाई देख्नेले प्रहरीमा खबर गरेर खोजी गरिदिन आग्रहसमेत गरिन्। जिल्ला प्रहरी कार्यालय चितवनले पनि रोशनको खोजीमा तीव्रता दिइएको बताएको छ।
चितवन प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले उनको खोजी भइरहेको बताए। नदी तटीय तथा राजमार्ग क्षेत्रमा खोजी भइरहेको डीएसपी रिजालले जानकारी दिए।
‘मान्छे हराएको सम्बन्धनमा त पहिलो कुरा खोजी गर्ने नै हो’, डीएसपी रिजालले भने, ‘खोजीका लागि पहिलो कुरा घटनाको क्लु थाहा पाउनुपर्यो। कहाँ, कुन तरिकाले खोज्ने भन्ने नै अलमलको अवस्था छ। तर पनि हामीले सबै तवरबाट खोजीका लागि सञ्जाल परिचालन गरेका छौँ।’

