काठमाण्डौ । चाडपर्व शुरू भएका बेला सरकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुशी भएका छन् ।
सरकारबाट अनुदान पाउने कुनै आशा–भरोसा नभएका बेला रकम पाएपछि आफूहरू खुशी भएको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान रामविनोद महतोले बताउनुभयो ।
आर्थिक वर्ष २०८०/८१ मा गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन् ।
उद्योगलाई गएको वर्ष उखु बेचेका १४ हजार चार सय ४४ जना किसानका खातामा उनीहरूले बुझाएको उखुको परिमाणअनुसार प्रतिक्विण्टल ७० रुपैयाँका दरले अनुदान रकम दिइएको छ । सबै किसानले गरेर २० करोड ३३ लाख १५ हजार ८ सय ११ रुपैयाँ पाएका छन् ।

