चितवन । यति एयरलाइन्सले आफ्नो सेवा बन्द गरेपछि गुण एयरलाईन्सले भरतपुर –काठमाडौं –भरतपुर सेवा दिने भएको छ । एयरलाइन्सले उडानको लागि अनुमति लगायत सम्पूर्ण तयारी पुरा भईसकेको जनाएको छ । दशैंलाई लक्षित गर्दै एयरलाइन्सले पहिलो पटक भरतपुरबाट सेवा दिन लागेको हो ।
एयरलाइन्सका कर्मचारी कुलराज शर्माले उडानको लागि सबै तयारी पुरा भएको जानकारी दिए । ‘हाम्रो लगभग सबै काम पुरा भएको छ र टिकट बुकिङ्ग पनि शुरु गरेका छौं, उनले भने, असोज १ गतेबाट उडानको पक्का पक्की भईसकेको छ ।’ शुरुवाती क्षणमा एयरलाइन्सले एउटा मात्र उडान बाट सेवा शुरु गर्नेछ । हामीले शुरुमा १८ सिटे एउटा फ्लाईटबाट सेवा शुरु गर्नेछौं, शर्माले भने, यात्रुको चाप अनुसार उडान थप गर्दैछौं ।’ उनले भने ।
विमानस्थलका प्रमुख योगेन्द्र कुंँवरले गुण एयरलाइन्सले उडान अनुमति लिईसकेको र फ्लाईट सेड्युल पनि आइसकेको बताए । ‘फ्लाईट सेड्युल पनि आईसकेको छ, असोज १ गतेबाट सेवा शुरु हुन्छ ।’ कुंँवरले भने । यात्रुहरुको चाप अत्यधिक बढ्दै गईरहेको भन्दै कुंँवरले गुण एयर सञ्चालनमा आएसंँगै यात्रुहरुलाई केही राहत मिल्ने बताए ।
असोज १ गते बिहान सांँढे १० बजे काठमाडौंबाट भरतपुर उडान हुने समय तालिका रहेको छ । र पछि समयतालिका हेरफेर गर्न सकिने बताईएको छ । हाल बुद्धले काठमाडौं ९ वटा फ्लाईट, भैरहवा र पोखरा एक एक फ्लाईट गर्दै आएको छ ।