गैँडाकोट । उमेरले ७२ वर्ष नाघे , कपाल र दारी फुलेर सेतै भए ,हात खुट्टा चाउरी पर्न थाली सके ,बुढेसकालले छोइसक्दा पनि उनको काम गर्ने जोस र जाँगर भने युवावस्थाको जस्तै छ । गैँडाकोट नगरपालिका वडा नं १४, भेलनटाँडीका काशिराम कंडेललाई बुढेसकालको भन्दा पनि आफ्नो तरकारी खेतीको बढि चिन्ता छ।
कंडेलको दिनचर्या दिउँसोको चर्को घाममा होस् वा बिहान , बेलुका जुन समय पनि तरकारीबारीमा बितिरहेको हुन्छ । कंडेलले तरकारी खेती गरेर बुढेसकालमा आफ्नो लागी आफै खर्च जुटाएका मात्र छैनन् , उनी धेरैका लागि प्रेरणाका स्रोत समेत बनेका छन् ।
विगत तीन बर्षदेखी तरकारी खेती गर्दै आएका कंडेल भन्छन् “बिहान उठेर घरको धन्दा सकेर बारीमा आउछु, तरकारी गोड्मेल गर्छु, बुढेसकालमा समय बिताउने माध्यम बनेको छ ।” उनले थप्दै भने “चिया पसलमा गफ गरेर समय खेर फाल्नु भन्दा तरकारी खेती गरे समय पनि वित्ने आम्दानी पनि हुने त्यस्तैले यतातिर लागे ।”
बुढेसकालमा के नै गर्न सकिन्छ र ? भन्नेहरुका लागि उनले गर्न सकिन्छ भन्ने सावित गरिदिएका छन् । “यो बुढेसकालमा पैसा नै कमाउँछु भनेर त कहाँ काम गर्न सकिन्छ र ? तैपनि यसो बसिबियाँलो पनि हुने, घर चलाउन पनि केही सहयोग हुने भएपछि झनै लगाव बढेर आयो ,” उनले भने । तरकारी खेती गर्ने तरिका युट्युबबाट सिकेका कंडेलले आफुले सिकेको सीपलाई आफ्नै बाँझो बारीमा सदुपयोग गरे, जुन अहिले बुढेसकालमा उनको साहारा पनि बनेको छ ।
करिब एक कठ्ठा क्षेत्रफलमा काक्रो, ड्रागन फ्रुट, एभोकाडो लगाएका कंडेलले, एक छेउमा लिची, मरीच, ड्रागन फ्रुट लगायतका बिरुवा उमारेर बिक्री समेत गर्ने गरेका छन् । करीब २ लाखको लगानीबाट व्यावसायिक तरकारी खेती सुरु गरेका उनले बार्षिक रुपमा करिब ९० हजार भन्दा बढि आम्दानी गर्ने गरेका छन् । उनी भन्छन् “मैले लगाएको तरकारी किन्न अमरापुरी मात्र होईन गैँडाकोट लगायतका अन्य ठाउँबाट पनि आउनु हुन्छ । घरका लागि तरकारी किन्न परेको छैन् ।”व्यावसायिक तरकारी खेती गर्नका लागी उनले वडाबाट २५ हजार अनुदान समेत पाएका थिए ।
तन, मन र लगाव भए तरकारी खेतीमा प्रशस्त सम्भावना रहेको उनको विश्वास छ । उनी भन्छन् “मैले यो उमेरमा त व्यावसायिक रुपमा तरकारी खेती गरेर आम्दानी गर्न सक्छु भने युवाले गरेर झन के हँुदैन ।” बुढेसकालमा यसरी मिहिनेत गर्नुपरेकोमा उनलाई कत्ति पनि पछुतो छैन ।”पाल्न त छोराछोरीहरूले जसरी नि पाल्छन् तर, बसीबसी खान मन छैन, आफूले सकिन्जेल काम गर्नुपर्छ भन्ने लाग्छ । त्यसैले पनि खटिइरहेको छु ।’दुःख गर्न सजिलो त पक्कै हुँदैन । तर, त्यही दुःखले सन्तुष्टिसहितको खुसी भने दिलाउने गर्छ” उनले भने ।
आगामी दिनमा यो खेतीलाई अझै बढाउने सोच बनाएका कंडेलले विशेष गरि बेमौसमी तरकारी खेतीमा जोड दिएका छन् । कंडेल बुढेसकालमा आफ्नो समयको सदुपयोग मात्रै गरिहेका छैनन्,स्वरोजगार पनि बनिरहेका छन् ।