चितवन। चितवनमा एमाले पार्टी विभाजनपछि समीकरणमा फेरबदल देखिएको छ । नेकपा एमालेको नवौं चितवन जिल्ला अधिवेशनमा माधव नेपाल समूहले अध्यक्षसहित अधिकांश पद हरुमा जितेको थियो । तत्कालीन माधव नेपाल समूहमा नेतृत्व सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, कृष्ण खनाल लगायतका नेताहरु थिए भने केपी ओली समूहको नेतृत्व काशीनाथ अधिकारी, देवी ज्ञवाली र जगन्नाथ थपलिया लगायतका नेताहरुले गर्थे ।तर एमाले विभाजन भएर माधव नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण गरेपछि भने माधव नेपाल समूहमा लहर देखिएन । नेपाल समूहकै भनेर चिनिने सुरेन्द्र पाण्डेलगायत संस्थापनतिरै लागेपछि उनको प्रभावस्वरुप जिल्लामा पनि नेपाल समूह तितरबितर बनेको हो ।
चितवनमा सुरुमा माधव नेपाल समूह छाड्ने नेतामा थिए, प्रतिनिधिसभा सदस्य तथा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल । नेकपा हुँदा प्रचण्डसँग सुमधुर सम्वन्ध बनाएका पोखरेल नेकपा विभाजन लगत्तै ओलीतिरै लागेका हुन् ।यसअघि नै ओली समूहले नेत्री पार्वती रावलको नेतृत्वमा जिल्ला कमिटी गठन गरिसकेको थियो । अहिले पनि रावल नै अध्यक्षको भूमिकामा रहेकी छिन् भने पोखरेलले पनि नेतृत्व खोजिरहेका छन् ।माधव नेपाल समूहतिर लागेका अरु पनि पार्टीमा १० बुँदे कार्यान्वयनको नाममा मूल पार्टीमै बसेका छन् । त्यसको मुल प्रभाव चितवन क्षेत्र न १ का संसद तथा स्थायी कमिटी सदस्य समेत रहेका सुरेन्द्र पाण्डे एमालेमा नै रहने निर्णय हो ।
पाण्डेको जोडबलले माधव पक्षको समानान्तर कमिटीका सचिव प्रकाश ढुंगाना, युवा नेता केशव आचार्य लगायतका नेताहरु एमालेमा रहने निर्णय गरेका थिए । जिल्लामा नेताहरुको व्यापक दबाब बाबजुद पनि एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खनाल भने नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरे । उनले बागमती प्रदेशको मन्त्रीबाट पनि राजीनामा दिए ।
उसो त समानान्तर कमिटीका अध्यक्ष तेजेन्द्र खड्का पनि नेपालको पार्टीतिर लागेनन् । उनीलाई अध्यक्षसमेत बनाउने भनिएपनि कार्यान्वयन हुन समस्या भइरहेको छ भने पार्टीभित्र नेतृत्वमा जान विभिन्न गुट उपगुट कायमै रहेको छ ।
नेकपा एमालेको ९ औ जिल्ला अधिवेशनदेखि नै पार्वती रावल र विजय सुवेदीको एमाले महासचिव समर्थित समुह र पार्टी अध्यक्ष ओली समर्थित काशीनाथ अधिकारी, देवी ज्ञवाली र जगन्नाथ थपलिया समर्थित दुई समुहहरु थिए ।नेकपाको विभाजन पछि एमाले चितवनमा तेस्रो धारको रुपमा बादल समुहको पनि प्रवेश भयो । माओवादीबाट ओली समुहमा आएका बादलको गृह जिल्लामा माओवादी नेता शैलेश खनालको नेतृत्वको नयाँ गुटको निर्माण समेत भएको स्थानीय नेताहरु बताउँछन् । उनी पनि अध्यक्षको दौडमा छन् ।
यही गुट, उपगुट र आन्तरिक संघर्षले एमालेको भाद्र २८ गते राखिएको जिल्ला कमिटी बैठक असोज ५ गतेलाई सारिएको छ । जिल्लाका नेताहरुमा सहमति गराउन सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, अनन्द पोख्रेल लगायत नेताहरुले भरतपुर स्थित ग्लोबल होटलमा नेताहरुसँग वार्ता गरेका थिए । वार्तामा बसेका मध्ये एक जिल्ला नेताले नेताहरुको प्रस्ताव बाबजुद पनि अध्यक्षमा सबै समुहको आआफ्नो दाबीको कारणले ठोस सहमति हुन नसकेको बताए । रातोपाटीबाट