कास्की । माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल आधार शिविरमा मानव अवशेष भेटिएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले मानव कङ्काल भेटिएको जानकारी दिएका बताउनुभयो । उहाँका अनुसार मानिसको हाड, टाउजर र आइफोन माेबाइल पनि फेला परेको छ ।
भेंडा र चौंरी चराउँदै गएकाले अस्ति शुक्रवार मानिसको दुई वटा हाड भेटिएका हुन् । बर्खा लागेपछि माछापुच्छ्रे गाउँपालिकाको हिमाली क्षेत्रका मानिस भेंडाबाख्रा र चौंरी चराउँदै लेकतिर जाने गर्छन् । भेटिएकाे मानिसको हाड, टाउजर र आइफोन स्विडिस नागरिक मिचल लिउ ब्लोम्बर्गको हुन सक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मर्दी हिमालको बेसक्याम्पसम्म सोलो (एकल) पदयात्रामा गएका स्विडिस नागरिक मिचल गएको वर्ष पुस १४ गते हराएका थिए । हाड भेटिएको ठाउँ मर्दी हिमाल बेस क्याम्पसको चार हजार पाँच सय मिटर हाराहारीमै रहेको छ ।

