गैँडाकोट। नवलपुर जिल्लामा पनि जनगणना २०७८ को तयारीलाई तिव्र पारिएको छ । मन्त्रीपरिषदले यहि भाद्र २१ गते सोमबारको बैठकले १२ औँ राष्ट्रिय जनगणना २०७८ लाई संचालन गर्ने अनुमति दिएपछि अहिले सुपरीवेक्षकहरुलाई पुनतार्जगी तालिम प्रदान गरिएको छ ।
हिजो र आज चल्ने तालिममा घरपरिवार सूचीकरण, लगत उतार तरिका, नक्सा, कृषि उतार फारम भर्ने विधि, सामुदायिक प्रश्नावली सम्बन्धि विषयमा प्रष्टाइएको जिल्ला जनगणना अधिकारी जितेन्द्र रानाभाटले बताउनुभयो ।उहाँले तालिम पश्चात भाद्र ३० देखि असोज १८ गते सम्म सुपरीवेक्षकहरुले घरपरिवार सूचीकरणको काम २० दिनमा सक्नुपर्ने लक्ष्य राखिएको बताउनुभयो । गणकको नियुक्ति कार्तिक १३ गते भित्र सम्पन्न गर्ने भन्दै उहाँले प्रत्येक स्थानीय जनगणना कार्यालयले गणकको तालीम कार्तिक १३देखि १७ सम्म संचालन गरिने बताउनुभयो ।रानाभाटले मुल गणना कार्तिक २५ देखी मंसिर ९ गते सम्म १५ दिनको हुने जानकारी दिनुभयो।
हिजो तालिमको अवलोकन गर्दै प्रमुख ज्लिला अधिकारी मनमाया पंगेनी भट्टराइले सही र यथार्थ सूचना ल्याउने महत्वपूर्ण भूमिका र जिम्मेवारी सुपरीवेक्षककको हुनाले मनैदेखि जिम्मेवारीमा लाग्न आग्रह गर्नुभयो । उहाँले जनगणनाको तथ्याङ्कले घरदेखि देशको नीति नियम बनाउन सहयोग गर्ने भन्दै मिथ्याङ्क आउन नदिन आग्रह गर्नुभयो । अझ नवलपुरबाट चाँडै र यथार्थ सूचना केन्द्रमा पुरयाउन आग्रह गर्दै उहाँले फिल्डमा जाँदा सुरक्षा लगायतका समस्या आए प्रशासनले सहजीकरण गर्ने बताउनुभयो ।