चितवन। चितवन जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको छ । समयमै मनसुन सुरु भएपछि गत वर्ष भन्दा यस वर्ष रोपाइँ छिटो सुरु भएको हो ।
कृषि ज्ञान केन्द्र चितवनले दिएको जानकारीअनुसार जिल्लाभर १८ हजार ८७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ भने ५ हजार ३७० हेक्टर क्षेत्रफलमा रोपाइँ हुन बाकी छ ।
गतवर्ष चितवनमा कुल २२ हजार ८७० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको थियो । कृषि ज्ञान केन्द्रकि अधिकृत सुरुची त्रिपाठीका अनुसार गतवर्षभन्दा यसवर्ष बढि क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान छ। त्रिपाठीले भनिन् , “समयमै मनसुन वर्ष नहुदा र समयमै नहरको पानी आउन नसकेको कारणले गत वर्ष ९५% मात्र रोपाइँ भएको थियो भने रोपाइँ नभएको ठाउँमा भने किसानले वैकल्पिक बाटो रोज्न बाध्य भएका थिए। उनिहरुले कोदो , मकै जस्ता अन्य बाली लगाउनु परेको थियो ।”
यसवर्ष समयमै वर्षा हुँदा बेलैमा धान रोप्न पाएपछी कृषकहरु पनि खुसी देखिन्छन् । भरतपुरमा बसोबास गर्दै आएका कृषक गोपाल कँडेल भन्छन् ,” गतवर्ष मोटरको पानी ,जेनेटर जस्ता कुराहरुको प्रयोग गरेर महँगो खर्च रोपाइँ गरेेको थिए ।” यो वर्ष छिटै मनसुन भित्रीयो र समयमै खेत रोपेर सके “।
त्यस्तै अर्का कृषक रमेश कार्की भन्छन् ,”गत वर्ष १२०० रुपैयाँ पैसा तिरेर खेतमा पानी लगाएर खेत रोप्न बाध्य भए”।नहरमा पानी आउन सकेन।’नहरको पानी नआएपछि निकै गार्हो भयो । यो पटक भने समयमै पानी परेर निकै सजिलो भो ।
जिल्लाका सबै स्थानमा धानखेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई मुख्य क्षेत्रका रूपमा लिने गरिन्छ। चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरामसिनाजस्ता जातका धान लगाइने गरिन्छ।

