काठमाडौं । नेपाली साहित्यको महत्त्वपूर्ण पुरस्कारमध्येको एक मोती पुरस्कारबाट विराटनगरका कवि तथा पत्रकार मीनकुमार नवोदितसहित चार स्रष्टा पुरस्कृत भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवा वर्ष मोती पुरस्कार–२०७७’ कवि नवोदितलाई प्रदान गरेको हो ।
यसैगरी, मोती पुरस्कार समालोचक महेश पौड्याललाई समर्पण गरिएको छ । पौड्याललाई पनि २०७७ सालको मोती पुरस्कार प्रदान गरिएको हो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पुरस्कारका साथ संयुक्त रूपमा ५० हजार रुपैयाँ नगद र स्वर्णपदक तथा सम्मानपत्र पनि प्रदान गरिएको छ । पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन् ।
त्यस्तै, २०७८ सालको मोती पुरस्कार जापानमा बसेर नेपाली साहित्यमा योगदान गरिरहेका प्रकाश पौडेल ‘माइला’ र काठमाडौं बसेर नेपाली भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्त्वपूर्ण योगदान गरिरहेका हेम प्रभासलाई प्रदान गरिएको छ ।
युवा वर्ष मोती पुरस्कार युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ लाई संयुक्त राष्ट्रसंघले युवा वर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो । सो पुरस्कार हरेक वर्ष मोतीजयन्तीका दिन प्रदान गर्ने गरिन्छ ।
गत वर्ष कोभिड–१९ का कारण मोती पुरस्कार स्थगित भएको थियो ।
मोतीराम भट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरूलाई प्रदान गरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्त्वपूर्ण पुरस्कार मानिन्छ ।