चितवन। उद्योग वाणिज्य संघ–चितवनले आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग अन्तरक्रिया गरेको छ ।
अन्तरक्रिया कार्यक्रमा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले देशको विकासमा उद्यमी व्यवसायीको भुमिका महत्वपुर्ण रहने बताउदैँ आर्थिक समृद्धि र देशको व्यापार घाटा न्यूनिकरणका लागि सरकारले व्यवसाय मैत्री नीति नियम बनाउनु पर्ने बताउनु भएको थियो । उहाँले सरकारी क्षेत्रबाट उद्योग तथा व्यापार अनुगमन गर्दा निजी क्षेत्रलाई पनि सामेल बनाउनु पर्ने माग राख्नुभएको थियो । उहाँले भरपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्न कार्यक्रमहरु भरतपुर ल्याउन माननीय मन्त्रीज्यू आग्रह गर्दै उहाँले चितवनमा रहेका रुग्ण उद्योगहरुको पुर्नउत्थान गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीज्यूले भरतपुर भ्रमण वर्ष सफलताको शुभकामना व्यक्त गर्दै उहाँले दिगो सरकार नभएकाले उद्योगी व्यवसायीहरुको पुर्नउत्थान हुन नसकेको बताउनुभएको थियो । उहाँले उद्योगी व्यवसायी सँग सम्बन्धीत नीति नियमहरु निजी क्षेत्रको प्रतिनिधित्वमा संसोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
आयातित कर्चा पदार्थबाट उत्पादित वस्तुहरुले विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्ने बताउदै उहाँले कच्चा पदार्थ देशकै स्रोत साधनलाई प्रयोगमा ल्याई उद्योगहरुको पुर्नउत्थान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष कल्याण जोशीले उद्योग व्यवसाय दर्ता र नविकरणमा एकद्धार प्रणाली लागु गरी कायम गर्न माननीय मन्त्रीज्यूको ध्यानर्कषण गराउनुभएको थियो । उहाँले उद्योगहरुमा काम गर्ने कर्मचारी नपाउने अवस्था सृजना भएकोले यूवाहरुलाई देशमा बस्ने वातावरण सृजना गर्नु पर्ने बताउनुभएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले यस अन्तरक्रिया कार्यक्रमले उद्योगी व्यवसायीहरुको पिडालाई सम्बोधन हुनेछ भन्ने विश्वास लिएको बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधान, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, उद्योग वाणिज्य संघका उपाध्यक्ष द्वय राजेन्द्र ओली र नारायण प्रधान, संघका कार्यसमिति, भरतपुर महागरपालिका वडा नं ३ का वडा अध्यक्ष विकास थापा, उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।


