चितवन । वाग्मती प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री विजय सुवेदीलाई चितवनमा स्वागत तथा सम्मान गरिएको छ । नेकपा (एमाले) भरतपुर महानगरपालिका कमिटीले आज (बिहीबार) पार्टी कार्यालय भरतपुरमा विशेष कार्यक्रम गर्दै मन्त्री सुवेदीलाई स्वागत तथा सम्मान गरेको हो । स्वागत तथा सम्मान कार्यक्रममा नवनियुक्त मन्त्री सुवेदीले सबैको सल्लाह र सुझावअनुसार काम गर्ने बताएका छन् । ‘योग्यता र क्षमताको आधारमा युवाहरुलाई काम दिने परिपाटीको विकास थाल्नेछु’ सुवेदीले भने, ‘अहिले मानव संशाधनको उचित विकास हुन सकेको छैन, यसको व्यवस्थापनतर्फ पनि मेरो ध्यान केन्द्रित हुनेछ ।’ शिक्षा तथा समाज कल्याणसँग सम्बन्धित आफ्नो मन्त्रालय रहेको भन्दै मन्त्री सुवेदीले समग्र प्रदेशको शैक्षिक क्षेत्रको गुणस्तर वृद्धिमा ध्यान दिने प्रतिवद्धता जनाए ।
‘शैक्षिक क्षेत्र पिछडिनुको कारणबारे खोजीनीति गर्नेछु’ सुवेदीले भने, ‘समग्र शिक्षा क्षेत्रको विकासका लागि शिक्षाविद् तथा बौद्धिक वर्गसँग सहकार्य गरेर अगाडि बढ्नेछु ।’ सभ्य र समृद्ध मुलुक निर्माण, ज्येष्ठ नागरिक, समाज कल्याण लगायतका विषयमा आफ्नो ध्यान केन्द्रित भएको सुवेदीको भनाइ छ । आफूले प्रतिनिधित्व गर्ने पार्टी नेकपा (एमाले) साध्य मात्रै भएकाले मुलुकको विकास र समृद्धि साधन भएको भन्दै त्यसतर्फ आफ्नो ध्यान जाने बताए ।
जनप्रतिनिधिको कामलाई नागरिकले नजिकबाट नियालीरहेका भन्दै सुवेदीले सरकारी कार्यालय भर्तिकेन्द्र बनाउन नहुने बताए । नागरिकको इच्छा र चाहनाअनुसार काम गर्नमा आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै सुवेदीले मन्त्री पदमा बुधबार सपथ खाएसँगै मतदातासँग भेटघाटका लागि आफू चितवन फर्किएको बताए ।
कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारी, भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीलगायतका नेताहरुले सुवेदीको व्यक्तित्वबारे चर्चा गरेका थिए । सुवेदीले निष्ठाको राजनीति गर्ने गरेका भन्दै उनको राजनीति यात्रा दाग रहित भएकाले मन्त्रीको कार्यकाल पनि सक्षम रुपमा पूरा गर्न आग्रह गरे । कार्यक्रम नेकपा एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।
गणेशधामई देशकै प्रमुख धार्मिलाक गन्तव्य बनाउछौँ : मन्त्री सुवेदी
यस्तै वाग्मती प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री विजय सुवेदीलाई भरतपुर ११ स्थित गणेशधाममा बधाई एवं स्वागत गरिएको छ । गणेशधामका संरक्षक एवं परिकल्पनाकार समेत रहनु भएको नवनियुक्त सामाजिक विकास मन्त्री सुवेदीलाई गणेशधाम संरक्षण संवद्र्धन समितिको आयोजनामा स्वागत एवं सम्मान गरिएको हो ।

गणेशधाम संरक्षण संवद्र्धन समितिका उपाध्यक्ष वावुराम उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्दै गणेशधामको संरक्षक प्रदेशको सामाजिक विकास मन्त्री हुनु आम चितवनवासीकै गौरवको कुरा भएको वताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नवनियुक्त सामाजिक विकास मन्त्री सुवेदीले पद भन्ने कुरा खास अवस्थाको जिम्मेवारी भएको वताउँदै आफु पदमा हुँदा या नहुँदा जुनसुकै अवस्थामा पनि गणेशधामको विकास र प्रवद्र्धनमा ध्यान दिने वताउनु भयो ।
आफुलाई मन्त्रीको रुपमा नभई गणेशधाको प्रतिनिधिको रुपमा हेरिदिन आग्रह गर्दै सुवेदीले गणेशधामलाई देशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सपना साकार पार्न सवैको साथ सहयोग र समर्थन आवश्यक रहेको वताउनु भयो ।कार्यक्रममा वोल्दै भरतपुर ११ का वडा अध्यक्ष वावुराम अधिकारीले गणेशधाम भरतपुरको गहना भएको वताउँदै यसको संरक्षण र संवद्र्धनमा झनै सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नु भयो ।
भरतपुर २ का वडाअध्यक्ष पुर्ण बहादुर श्रेष्ठले प्रदेश सरकारको सहयोग विना गणेशधाम निर्माणले पुर्णता नपाउने वताउँदै सहयोग दिलाउने सवालमा नवनियुक्त मन्त्री सुवेदीलाई आवश्यक पहल गरिदिन आग्रह गर्नु भयो । गणेशधाम संरक्षण प्रवद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेले गणेशधामको परिकल्पनाकार नै प्रदेशको मन्त्री हुँदा गणेशधाम परिवार हर्सित भएको वताउँदै सफल कार्यकालको सुभकामना व्यक्त गर्नु भयो ।
गणेशधामका अधुरा योजना योजना पुरा गर्न मन्त्री सुवेदी कोशेढुंगा सावित हुनुहुने वताउँदै उहाले आगामी दिनमा गणेशधामको विकासले अप्रत्यसीत फड्को मार्ने अपेक्षा व्यक्त गर्नु भयो । गणेशधाम संरक्षण प्रवद्र्धन समितिका महासचिव रविन्द्र वरालले संचालन गर्नु भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, गणेशधाम संरक्षण प्रवद्र्धन समितिका सचिव सन्तोष पन्त, कोषाध्यक्ष शंकर अधिकारी, लेखा समितिका संयोजक नवराज सापकोटा, सचिवालय सदस्य पुस्तक गौतम, केशव थापा निरुलगायतको सहभागिता रहेको थियो । बुधवारमात्रै पदभार ग्रहण गरि चितवन आउनु भएका मन्त्री सुवेदीले बिहीबार विहान गणेशधामको दर्शन समेत गर्नु भएको छ ।

