चितवन । चितवनको खैरहनी नगरपालिकाले शिक्षाको क्षेत्रमा नौलो अभ्यास गरेको सुरु गरेको छ । नगरपालिकाले विपन्न परिवारका बालबालिकाको लागि वस्तिमै गृहकार्य कक्षा संचालन गरेको हो । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नुपर्ने , बाल बच्चालाई पठनपाठनमा सहजीकरण गर्न नसक्ने परिवारका बालबालिकाको लागि उनीहरुलाई पायक पर्ने वस्तिमा गृहकार्य कक्षा सचालन गरिएको हो ।
नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीको लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सन्चालन गरेको छ । गृहकार्य कक्षाको लागि वस्तीे नजिक रहेको कोठा ,सामुदायिक भवन , संघ सस्थाको भवन र विद्यालय नै भएको स्थानमा विद्यालयकै कोठामा गृहकार्य कक्षा संचालन गरिएको खैरहनीका नगर प्रमुख शशीकुमार खनियाले जानकारी दिए । केहि स्थानमा कोठा भाडामा लिएर समेत कक्षा संचालन गरिएको र गृहकार्य कक्षाको लागिकापी समेत नगरपालिकाले उपलब्ध गराएको उनले बताए । विद्यालयमा अध्ययन गरेपछि घरमा सहजीकरण , सिकाउने व्यक्ति नहुदा विद्यार्थीले प्रयाप्त शैक्षिक वातावरण नपाएको विषयलाई मध्यनजर गर्दै गृहकार्य कक्षा संचालन गरिएको नगरप्रमुख खनियाले बताए ।
विद्यालयमा दिइएको गृहकार्यसंगै अन्य थप विषयवस्तु र व्यवहारिक शिक्षा समेत गृहकार्य कक्षामा दिइदै आएको छ । गृहकार्य कक्षाको सहायताले विपन्न परिवारका बालवालिकामा विद्यालय पश्चात् पनि पढ्नेलेख्ने वानीको विकास हुने , अभिभावकको समय अभावमा समेत बालवालिका माथी निगरानी र संरक्षण प्राप्त हुने खैरहनी नगरपालिककी उपप्रमुख कविता उप्रेतीले बताइन् ।गृहकार्य कक्षाको लागि वडा समितिले छनौट गरेका २८ जना सहजकर्ताहरुलाई खटाएको उनले बताइन् । गृहकार्य कक्षाको लागि सहजकर्ताहरुमा बहालवालशिक्षक , स्वंयम्सेवक शिक्षक र कक्षा १२ उतिर्ण गरेकाहरु रहेका छन् । प्रत्येक दिन दुईघण्टा कक्षा संचालनहुँदै आएको छ ।
गृहकार्य कक्षा कार्यक्रममा नगरपालिकाको १३ वटै वडाका करिब ७ सय ८४ जना विद्यार्थी लाभान्वीत हुने खैरहनीकानगर शिक्षाअधिकारी राजु वानियाँले जानकारी दिए । नगरपालिकाले यसअघि सामुदायिक विद्यालयहरुमा विषयगत अध्ययन गराउन ५८ जना स्वयम्सेवक शिक्षकहरु खटाएर पठन पाठन गराउदै आएको छ । खैरहनी माध्यमिक विद्यालयमा दश जोड दुईमा निशुुल्क विज्ञान शंकायको कक्षा समेत संचालन गर्दै आएको छ ।

