चितवन । होटल व्यवसायी महासंघ नेपालको ११ औं बार्षिक साधारण सभा फागुन ४ गते रत्ननगरमा हुने भएको छ । रत्ननगरको सौराहाचोक स्थित होटल गंगोत्री होइवेमा हुने साधारण सभाको बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गर्नेछन् ।
महासंघले बुधबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी साधारण सभाको तयारीको बारेमा जानकारी दिएको हो ।
साधारण सभामा महासंघले एक वर्षमा गरेका कार्य प्रगतिको समीक्षा गर्दै आगामी दिनमा महासंघबाट गरिने भावी कार्ययोजना तथा व्यवसायीहरुको समस्या र त्यसको सामधानको लागि छलफल गरिने महासंघका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । नेपालमा पर्यटन विकासको लागि महासंघले खेलेको भूमिकाको समीक्षा गर्दैै थप पर्यटनको विकासका लागि तीनै तहको सरकारसंगको सहकार्यका बारेमा समेत छलफल हुने उनले जानकारी दिए । साधारण सभा अन्तर्गत फागुन ३ गते विहीबार भरतपुर भ्रमण बर्षको विषयमा महानगरपालिकासंग अन्तरक्रिया तथा ४ गते साधारण सभाको उद्घाटन कार्यक्रम हुने उनले जानकारी दिए ।
साधारण सभामा ५५ जिल्लाका ३०० बढी व्यवसायीहरु प्रतिनिधि र परिवेक्षकको रुपमा सहभागी हुनेछन् । मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन व्यवसाय धारासायी हुने खतरा बड्दै गइरहेको भन्दै महासंघका अध्यक्ष चुकेले व्यवसायिक सुरक्षाका लागि राज्य र महासंघले खेल्नुपर्ने भूमिकाको बारेमा समेत छलफल गरी निष्कर्ष निकालिने बताए ।
आर्थिक मन्दिको गहिरो प्रभावका कारण सिर्जित समस्याले देशको अर्थतन्त्र नै धारासायी बनेको वर्तमान अबस्थामा पर्यटनको मूल आधारको रुपमा रहेको होटल व्यवसाय पूर्ण रुपमा धारासायी भए देशको अर्थतन्त्रमा नै दीर्घकालिन रुपमा नकारात्मक असर पार्ने भन्दै अध्यक्ष चुकेले व्यवसायिक सुरक्षाका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारलाई नीतिगत सुधारको लागि आग्रह गर्दै आएको बताए । साधारण सभामा महासंघले एक बर्ष भित्र गरेका निर्णयहरुको अनुमोदन समेत गर्ने छ ।
साधारण सभाले व्यवसायीले पालना गर्ने गरी आचारसंहिता लागु गर्ने, उधारो असुलीको लागि बनाइएको समितिको अनुमोदन तथा भ्रमण बर्षको लागि प्याकेज कार्यक्रम सार्वजनिक गर्ने महासंघका महासचिव शंकर भण्डारीले जानकारी दिए । महासंघले ७७ वटै जिल्लाका एक लाख होटल व्यवसायीहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

