चितवन । बिद्रोही नेकपा (माओवादी)ले भरतपुरमा ग्यास सिलिण्डर विस्फोट गराएको छ । आज बिहान करिब १ः४५ बजेको समयमा भरतपुर महानगरपालिका–४ रामघाट नजिकै खुल्ला चौरमा नेकपा (माओवादी)ले सिलिण्डर विस्फोट गराएको हो ।
घटना स्थलमा नेकपा (माओवादी)बाट सरकारलाई लिखित रुपमा बुझाएका मागहरु लेखेको पर्चा र ग्यास सिलिण्डरको टुक्राहरु जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
ग्यास सिलिण्डर विस्फोटबाट अन्य भौतिक तथा मानवीय क्षति नभएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा फेला परेको पर्चामा नेकपा (माओवादी)ले सरकारलाई बुझाएका ३३ बुँदे मागहरु उल्लेख गरिएको छ ।


