चितवन। उद्योग वाणिज्य संघ चितवनले व्यवसायिक सटर र जग्गाको कर सम्बन्धित घरधनीले नै तिर्न अपिल गरेको छ ।
संघले आज अपिल गर्दै सटर वा जग्गा भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीहरुलाई घरबहाल वा जग्गाको कर तिर्न लगाइएको भन्ने गुनासो आएकोले त्यसो नगर्न अपिल गरेको हो ।
अपिलमा भनिएको छ, आर्थिक मन्दी , मूल्य वृद्धि तथा बैंक व्याजका कारण उद्यमी व्यवसायी चरम आर्थिक मारमा परिरहेको व्यहोरा सबैमा विदितै छ । आफ्नो उद्यम व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा उद्यमी व्यवसायीहरुले नेपाल सरकारका विभिन्न निकायमा कर तथा राजश्व भुक्तानी गर्दै आइरहेकाछन् ।
पछिल्लो समयमा घर वा जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीलेनै स्वयं घर वा जग्गा बहाल कर तिर्न परेको भनी गुनासो उद्योग वाणिज्य संघ–चितवनमा आईरहेकोप्रति उद्योग वाणिज्य संघ–चितवनको ध्यानाकर्षण भएको छ । आम्दानी गर्नेले कर तिर्नुपर्ने करको सर्वमान्य सिद्धान्त रहेको समेत स्मरण गराउंदै घर तथा जग्गाको बहालकर घर वा जग्गा धनीलेनै भुक्तानि गर्नुहुनको लागि सम्बन्धित सबैमा उद्योग वाणिज्य संघ–चितवन हार्दिक अपिल गर्दछ ।


