चितवन । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा समसामयिक विषयमा चितवनका राजनीतिक दलका प्रमुखहरुसँग छलफल भएको छ । कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले वर्तमान आर्थिक मन्दी, पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, यातायातका साधनहरुको पहुँच र व्यवस्थापन, व्यावसायिक अवस्थाको बारेमा सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा सबै राजनीतिक दलहरुले सबै पार्टीको उद्देश्य चितवन जिल्लाको भौतिक एवं सामाजिक विकास गरी समृद्ध चितवन निर्माण गर्ने भएकोले सबै पार्टीको साझा धारणा बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
छलफल कार्यक्रममा अहिले निर्माणाधीन गोन्द्राङ–पुलचोक सडक छिटो सम्पन्न गर्नका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने, पूर्व चितवन, माडी र पश्चिम चितवनबाट आउने यात्रुबाहक सवारीसाधनलाई यात्रु झार्ने र ओराल्ने गरी नारायणगढबजार पुलचोक, पोखरा बसपार्क हुँदै बाइपास रोड परिक्रमा गराउनका लागि साझा अवधारणा तय भएको छ ।
ठोरी नाका खुलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल गर्न सबै राजनीतिक दल मिलेर पहल गर्नेसम्बन्धी छलफल भएको थियो । छलफलमा चाडपर्वमा स्थानीयरुपमा उत्पादित फूलहरुको प्रयोग गरी पुष्प व्यवसायीहरुको प्रवद्र्धन गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सहमति भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) चितवनका उपाध्यक्ष कमलराज पाठक, नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका संयोजक श्रीकृष्ण भूषाल, राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका उपाध्यक्ष जीवलाल पुरी, नेकपा (एकीकृत समाजवादी)का चितवन अध्यक्ष अरुण पीडित भण्डारी, नेकपा विप्लव सी चितवनका अध्यक्ष उत्सव सी, राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगर संयोजक सीता ज्ञवाली, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष रामप्रसाद श्रेष्ठ, प्रचण्डलाल प्रधान, कल्याण जोशी, सहनलाल प्रधानलगायत संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको संयुक्त छलफल कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

