चितवन। सौराहामा सोमबार संरक्षण र पर्यटन विकास सम्बन्धी सर्बपक्षिय अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
क्षेत्रीय होटल संघ सौराहासंगको सहकार्यमा निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले सयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको सो कार्यक्रममा ढल व्यवस्थापन, निकुञ्जको घाँसेमैदान व्यवस्थापन, जीप सफारी व्यवस्थापन, नेचर गाइडको कार्यसम्पादन र क्षमता विकास, सौराहाको सरसफाई, टिकट काउन्टर व्यवस्थापन लगायतको विषयमा छलफल भएको क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।
व्यवसायीहरुले सौराहाको पर्यटन जोगाउन निकुञ्जको संरक्षण आवश्यक रहेको भन्दै सहकार्य गर्न तयार रहेको बताएका थिए । नेपाली सेना र निकुञ्जका अधिकारीहरुले संरक्षण र पर्यटनको सुरक्षाको लागि सहकार्य गरेको काम गर्न तयार रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले होटलहरुबाट निस्कने ढल राप्तीमा मिसाए सौराहाको पर्यटनको अस्थित्व समाप्त हुने बताए ।
उनले राप्तीमा ढल मिसाउन संरक्षण विराधी काम भएको बताए । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीत बहादुर तामाङले सौराहाका व्यवसायीहरुले राप्तीमा ढल फाल्ने कार्य तत्तकाल बन्द गर्नुपर्ने बताए ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले मध्यवर्तीलाई वेवास्था गरी निजी संस्थाले निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम गरिरहेकोले त्यसलाई रोक्नु पर्ने बताए ।
कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगानाले नेपाली सेना, निकुञ्ज, मध्यवर्ती र व्यवसायीको सामुहिक पहलमा संरक्षण र पर्यटन विकासको कामलाई अगाडि बढाउनु पर्ने बताए ।
कार्यक्रममा नेपाली सेना, निकुञ्जका अधिकारी, मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका पर्यटन व्यवसायी, नेचरगाइड, वर्ड एजुकेशन सोसाइटी लगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली सेनाका कर्नेल विकास अधिकारी, बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङ, जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतो, मिलिजुली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीका गिरी, व्यवसायीहरु सुमन घिमिरे, ध्रुव गिरी, रामकुमार अर्याल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा निकुञ्जका सुचना अधिकारी गणेश तिवारीले सहजीकरण गरेका थिए ।

