चितवन । चितवनमा संविधान दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ । जिल्ला संविधान दिवस समारोह समितिको बैठकले असोज २, ३ र ४ गते दीप प्रज्वलनसहितका विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
समितिका संयोजक एवं जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बुधबार बसेको बैठकले असोज २ गतेदेखि ४ गतेसम्म जिल्लास्थित सबै सरकारी, गैरसरकारी कार्यालयमा साँझ दीपप्रज्वलन गर्ने, २ गते स्वास्थ्य कार्यालय चितवनको संयोजनमा प्रादेशिक अस्पताल रत्ननगरमा मधुमेह र उच्च रक्तचापसम्बन्धी कार्यक्रम गर्ने निर्णय भएको छ ।
यस्तै, ३ गते जिल्ला प्रशासन कार्यालय चितवन र टाइगर तालमा वृक्षरोपण गर्ने, मूल समारोह समितिको आयोजनामा खैरहनी र नारायणगढमा रक्तदान कार्यक्रम गर्ने, ७ बजे चौबिसकोठीबाट प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने लगायतका निर्णय भएको संयोजक अधिकारीले जानकारी दिए ।

