चितवन । चितवनमा गत आर्थिक वर्षमा छोरीभन्दा छोरा धेरै जन्मिएका छन् । एक हजार १२९ जना छोरा बढी जन्मिएका हुन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा बालिका (छोरी) ७ हजार ६५४ जना र बालक (छोरा) ८ हजार ७८३ जना जन्मिएका छन् । यस्तै जुम्ल्याह बच्चामा १५८ बालक र १२४ बालिकाको जन्म भएको छ भने जिल्लामा ३ जना तिम्ल्याह बच्चा जन्मिएका छन् ।
कार्यालयका अनुसार जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा गरी १७ हजार ७६ जना बच्चा जन्मिएका छन् । जसमध्ये २० वर्ष मुनीका आमाबाट ३ हजार ६७१ जना र २० वर्षमाथिका आमाबाट १३ हजार ४०५ जना बच्चा जन्मिएका छन् ।
जिल्लामा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आएका गर्भवती महिलाहरु मध्ये ४ हजार ९५३ जनाले गर्भपतन गराएका छन् । औषधि सेवन र शल्यक्रिया मार्फत उनीहरुले गर्भपतन गराएको कार्यालयका निमित्त प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिनुभयो ।
गर्भपतन गराउनेमा २० वर्ष मुनिका ३०७ जना रहेका छन् भने २० वर्ष माथिका ४ हजार ६४६ रहेका छन् । कार्यालयको तथ्यांक अनुसार २० वर्ष मुनिका २९४ जनाले १२ हप्तासम्मको गर्भपतन गराएका छन् भने १३ जनाले १२ हप्ता माथिको गर्भपतन गराएका छन् । २० वर्षमाथिका ४ हजार ६३८ जनाले १२ हप्तासम्मको र ८ जनाले १२ हप्तामाथिको गर्भपतन गराएको भण्डारीले बताउनुभयो ।
सोही अवधिमा ९ जना महिलाले बच्चा जन्माउने समयमा ज्यान गुमाउनु परेको छ । गर्भावस्थामा एक जना, प्रसुति अवस्थामा १ जना र सुत्केरी अवस्थामा ७ जनाले ज्यान गुमाएका हुन् । सोही अवधिमा २९ जना शिशुको मृत्यु भएको कार्यालयलको तथ्याङ्कले देखाएको छ । कार्यालयका अनुसार जन्मेको सात दिनसम्मका १४ जना र ८ देखि २८ दिन भित्रका १५ जना शिशुको मृत्यु भएको हो ।
जिल्लाका अस्पतालहरुमा चितवन सहित छिमेकी जिल्लाहरुबाट समेत सेवा लिन आउने गर्दछन् ।कान्तिपुर हेल्थबाट

