चितवन । रत्ननगर नगरपालिका वडा नं १४ मा रहेको एसवाई प्यानल नेपाल र एसवाई बजारले विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक तथा खाद्यान्ना सामाग्री सहयोग गरेको छ ।
सो वडामा रहेको द्धारिकादास माविमा अध्ययन गर्ने ६० जना विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक तथा खाद्यान्न सामाग्री सहयोग गरिएको कम्पनीका प्रबन्ध निर्देशक अनिल सापकोटाले बताए । शैक्षिक सामाग्री तर्फ स्कुल पोसाक,जुत्ता, व्याग, स्टेशनरी तथा खाद्यान्न तर्फ चमल, नेन तेल, दाल, चिनी, साबुन, चाउचाउ, चियापत्ती, मन्जर, ब्रस गरी तीन लाख रुपैया बराबरको सामाग्री सहयोग गरिएको सापकोटाले जानकारी दिए ।
सो विद्यालयमा अध्ययनरत ३६९ विद्यार्थीमध्ये गरिव,विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थी छनौट गरी ६० जनालाई सो सामाग्री प्रदान गरिएको हो । विद्यालयमा मंगलवार आयोजित एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष होमनाथ रानाभाट, कम्पनीका निर्देशक ली ह्वाछुन र कम्पनीका म्यानेजर वेग नाक्वनले शैक्षिक सामाग्री विद्यार्थीलाई र खाद्यान्न सामाग्री विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए । खाद्यान्न सामाग्री समिति मार्फत विद्यार्थीका अभिभावकलाई वितरण गरिने छ ।
कम्पनीका निर्देशक ली ह्वाछुनले पेटभरी खाना खाएर राम्रो लुगा लगाएर विद्यालय आउने वाताबरण तयार गर्न विद्यार्थीहरुलाई शैक्षिक तथा खाद्यान्न सामाग्री सहयोग गरिएको बताए । उनले कम्पनीको सामाजित उत्तरदायित्व कार्यक्रम अन्तर्गत विपन्न विद्यार्थीलाई सहयोग गरेको बताए । जनप्रतिनिधि र स्थानीय समुदायको सहयोगबाट मात्र कम्पनीले उत्पादन बृद्धि गर्ने बाताबरण तयार हुने उनले बताए ।
सो वडाका निर्वतमान वडाध्यक्ष हरिकुमार श्रेष्ठले विपन्न समुदायका विद्यार्थीहरुलाई सजिलै विद्यालय आउने बाताबरण तयार गर्न सहयोगका लागि एसवाई प्यानललाई आग्रह गरिएको बताए । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गीता देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कुँवरले विद्यालयको शैक्षिक अबस्थाका बारेमा जानकारी गराएका थिए ।
शिक्षक शिब राउतले सचालन गरेको सो कार्यक्रममा वडा नं १४ का वडा सदस्यहरु धिरेन घिमिरे,चमेली परियार, निर्वतमान वडा सदस्य रन्जित थापा लगायतले उपस्थिति रहेको थियो । कोरियन कम्पनी एसवाई प्यानलले नेपालमा भूकम्पप्रतिरोधी नमूना घर निर्माणका लागि स्यान्डवीच प्यानल र अन्य धेरै प्रकारका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।


