चितवन । उद्योग वाणिज्य संघ–चितवन र प्लास्टिक व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा कर तथा लेखासम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्लास्टिक व्यवसायी संघ चितवनको अध्यक्ष दीपक काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले उद्योगी व्यवसायी भएपछि व्यवसायसँग सम्बन्धित करका नीति तथा नियमहरु नजान्ने छूट नभएको बताउँदै व्यवसायलाई सक्षम र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नका लागि कर तथा लेखासम्बन्धी जानकारी हुनु जरूरी रहेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका द्वितीय उपाध्यक्ष एवं प्लास्टिक व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र ओलीले व्यवसायको नाफा नोक्सान, व्यवसाय विस्तार एवं आर्थिक विष्लेषण गर्नका लागि कर र लेखासम्बन्धी ज्ञान हुनु आवश्यक रहेको बताए ।
प्रमुख प्रशिक्षक रामजीप्रसाद अधिकारीले व्यवसायीहरूलाई मूल्य अभिवृद्धि कर, लेखासम्बन्धी नीति, खरिद बिक्री खाता राख्ने तरिका एवं आन्तरिक राजस्व कार्यालयबाट जारी भएका नीति नियमहरूको बारेका जानकारी दिएका थिए ।
प्लास्टिक व्यवसायी संघका उपाध्यक्ष टेकलाल विकको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष शिरिष पन्त, कार्यसमिति सदस्य रेशमलाल आचार्य, कार्यकारी निर्देशक निलबहादुर केसी, प्लास्टिक व्यवसायी संघका पूर्वअध्यक्ष एवं सल्लाहकार डिल्लीराम सापकोटा, उपाध्यक्ष तेजेन्द्र सापकोटा, सचिव रामकृष्ण दवाडी, सहसचिव विश्वास भट्टराई, कोषाध्यक्ष ओमप्रसाद लामिछानेलगायत ५० जना व्यवसायीको सहभागिता रहेको थियो ।

