चितवन। रत्ननगरका सुकुमबासी महिलाहरुलाई सामुहिक तरकारी खेती तालिम दिइएको छ । वडा नं ११ मा रहेको विश्वास टोल विकास संस्था अन्तर्गतका २१ जना सुकुमबासी महिलाहरुलाई अकबरे खुर्सानी र कोसेबाली खेती सम्बन्धी तालिम दिइएको हो ।
युएसएआइडी नेपालको आर्थिक सहयोगमा नेपाल दलीत महिला उत्थान संघ(एडवान) ले संचालन गरेको महिला अगुवाइमा आर्थिक अबसरको प्रर्वद्धन नामक परियोजनाले सुकुमबासी महिलाहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक तरकारी खेती तालिम दिएको हो । युएसएआइडी की चितवन फिल्ड कोअर्डिनेटर कमला रानाले विपन्न तथा सीमान्तकृत समुदायका महिलाहरुलाई आयआर्जन मार्फत आत्मनिर्भर बनाउन व्यवसायिक तरकारी खेती तालिम दिइएको बताइन् ।
महिलाहरुलाई सीपमुलक तालिम मार्फत सफल व्यवसायी बनाउने उद्देयले महिलाहरुलाई समुहमा आबद्ध गराइ सामुहिक तरकारी खेती तालिम दिएको उनको भनाई छ । महिलाहरुको नेतृत्व विकास र सीप विकासलाई संगसंगै अगाडि बढाएर उनीहरुको जीवनमा परिर्वतन ल्याउने गरी कार्यक्रम सचालन गरिएको रानाले बताइन् । सात दिने सो तालिम सोमबार समापन गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं ११ का वडाध्यक्ष श्यामकुमार श्रेष्ठ र एडवानकी उपाध्यक्ष तीर्थकुमारी विकले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।
सो अबसरमा वडाध्यक्ष श्रेष्ठले सामुहिक खेती गर्ने महिलाहरुलाई ८० प्रतिशत सम्म अनुदान उपलब्ध गराउने नगरपालिकाको योजना रहेको बताए । काम गरेर जीवन चलाउछौं भनेर सामुहिक रुपमा आउनेलाई सहयोग गर्न तयार छौं उनले भने तपाईहरु गर्छू भनेर आउनुहोस हामी पुरा सहयोग गर्नेछौं । एडवानकी उपाध्यक्ष विकले सशक्तिकरण मार्फत महिलाको नेतृत्व विकास र सीप विकास मार्फत आत्मनिर्भर बनाउने गरी चितवन सहित ८ जिल्लामा एडवानले कार्यक्रम सचालन गरिरहेको बताइन् ।
१५० वटा समुहमा १५ हजार महिलालाई आबद्ध गराएर एडवानले नेतृत्व विकास र सीप विकासका कार्यक्रम गरिरहेको उनको भनाई छ । समापन कार्यक्रममा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य एशोधा अधिकारी, कृषि शाखा प्रमुख प्रविन लामा, प्रशिक्षक अंकित लुइटेल, विश्वास टोल विकास संस्थाका अध्यक्ष नवराज राना, सहभागीको तर्फबाट दानकुमारी थापा लगायतले मन्तव्य राखेका थिए । एडवानकी उपाध्यक्ष तीर्थकुमारी विकको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

