चितवन । विद्यार्थीहरुमा आँखा पाक्ने रोगको प्रकोप देखिएसंगै माडी नगरपालिकाका सबै स्कुलहरु दुई दिनका लागि बन्द गरिएको छ ।
बालबालिकाहरुमा आँखा पाक्ने रोग बढ्दै गएकाले आज साउन २५ गते बिहीबार र भोलि २६ गते शुक्रबार दुई दिनसम्म स्कुल बन्द गर्ने निर्णय गरेको माडी नगरपालिकाका शिक्षा शाखा प्रमुख सुनिता खतिवडाले जानकारी दिनुभयो ।
हाल माडी नगरपालिकाको सबैजसो क्षेत्र लगायत देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोगको संक्रमण तीत्र गतिमा फैलिद गएको र सो’को रोकथाम नगरिएमा विद्यार्थी लगायत समुदायमा आँखा स्वास्थ्यमा गम्भिर समस्या देखिन सक्ने भएकोले सो रोगको संक्रमण रोकथाम तथा नियनत्रणको लागि सबै विद्यालय बन्द रहने नगरपालिकाले सुचना गरेको हो ।
आँखा पाक्ने रोग भाइरसबाट सर्ने भएकाले संक्रमित व्यक्तिले प्रयोग गरेका कुनै पनि वस्तु प्रयोग गर्न नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् । बारम्बार आँखामा हात लैजान नहुने, साबुनपानीले हात धोएर मात्र आँखामा छुने, संक्रमितले प्रयोग गरेका औषधी, ताैलिया लगायत कुनै पनि वस्तु प्रयोग नगर्न उनीहरुको सुझाव छ ।

