चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र खटिन र्यापिड एक्सन टिम (र्याट)लाई निर्देशन दिएको छ । नारायणगढ–मुग्लिनको पहिरोमा सहजिकरण गर्न भन्दै रास्वपाको चुनाव अंकित ज्याकेट लगाएका युवाहरु खटिएपछि जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी सचेत गराएको थियो ।
प्रशासनको सूचनापछि विज्ञप्ति जारी गर्दै रास्वपा महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले स्थानीय निकाय र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि र्याट, पार्टी पंक्ति तथा सम्बन्धितलाई निर्देशन दिएका हुन् ।
‘आम नेपाली जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरुलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विशुद्ध समाज हितका हेतु र्यापिड एक्सन टीम गठन गरेको हो । अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र र्याट जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ’, विज्ञप्तिमा भनिएको छ ।


