चितवन । रत्ननगर नगरपलिका वडा नं ४ की जिना श्रेष्ठले घरमा कहिल्यै खाना पकाउन परेन । पढाईमा ध्यान केन्द्रीत गर्ने उनलाई अभिभावकले पनि घरमा खाना पकाउन जोडबल गरेनन् । पढाईमा अब्बल उनी एसइई पास भएपछि होटल म्यानेजमेन्ट अध्यायन गर्ने निधो गरिन ।
१७ बर्ष उमेर हुँदा पनि घरमा खाना नपकाएकी श्रेष्ठले विद्यालयमा खानाको परिकार बनाउन सिक्दै छिन् । श्रेष्ठ पञ्चकन्या विद्यामन्दिरमा कक्षा १२ मा होटल म्यानेजमेन्ट लिएर अध्यायन गरिरहेकी छात्रा हुन् । विद्यालयमै खाना पकाउन सिक्न थालेको एक बर्ष पुरा भयो । अहिले उनले नेपाली मात्र होइन विदेशी खानाका परिकार बनाउन जानिसकेकी छन् । विद्यालयमा खानाका परिकार पकाउन सिकेकी उनले अहिले घरमा आमालाई समेत सघाउन थालेकी छन् ।
नेपाली खाना मात्र होइन इटालियन, चाइनिज, इण्डियन, अमेरिकी लगायतका देशका खानाका परिकार पकाउन जानेको छु उनले भनिन् एक बर्षमा सजिलै विदेशी खाना पकाउन जानिसके । जिनाले मात्र होइन रत्ननगर नगरपालिका वडा नं २ मा रहेको पञ्चकन्या विद्या मन्दिरमा होटल म्यानेजमेन्ट अध्यान गर्ने १६० जना विद्यार्थीले विद्यालयमै खानाका परिकार बनाउन सिकेका छन् । खैरहनीकी गरिमा थापाले विद्यालयमा रहेको आधुनिक किचन ल्यावमा खाना पकाउन सिकेको बताइन् ।
खाना पकाउन चाहिने आवश्यक पूर्वाधार प्रयाप्त छ उनले भनिन् सबै कुरा एकै ठाउँमा भएपछि सिक्न पनि सजिलो हुँदो रहेछ । पञ्चकन्या विद्या मन्दिरले एक्सपोलर कलेजसंगको सहकार्यमा म्यानेजमेन्ट तर्फ होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स र साइन्स विषय अध्यायन गराइरहेको छ । होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षाको लागि आधुनिक किचन ल्याव, बार, कफि सप, रेष्टुरेन्ट, हाउस किपिङको व्यवस्था रहेको कलेजका निर्देशक मनोज अधिकारीले जानकारी दिए ।
प्रयोगात्मक शिक्षाका लागि ४२ जना विद्यार्थीले एकै पटक खाना पकाउन मिल्ने सुविधा सम्पन्न किचन ल्याब हामीसंग छ उनले भने सम्भबत यो नेपालमै पहिलो सुविधा सम्पन्न किचन हो । कक्षा ११ र १२ पास गरिसकेपछि तत्कालै रोजगारी मिल्ने गरी प्रयोगात्मक शिक्षालाई जोड दिएको भन्दै उनले ६ महिना प्रयोगात्मक शिक्षा र ६ महिना शैद्धान्तिक शिक्षा प्रदान गर्ने गरिएको बताए ।
पछिल्लो समय होटल व्यवस्थापन, आइटी इन्जिनियरिङ, कृषि विज्ञान जस्ता विषय तर्फ विद्यार्थीहरुको आर्कषण बढ्दै गइरहेको भन्दै पन्चकन्या विद्या मन्दिर रत्ननगरका प्राचार्य भुवनसिंह थापाले रोजगार मुलक शिक्षाका लागि होटल म्यानेजमेन्ट विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको बताए । २०७३ सालबाट प्लस कक्षा सुरु गरेको सो विद्यालयमा विज्ञान र व्यवस्थापन तर्फका कार्यक्रमहरु संचालित छन् । विद्यालयमा व्यवस्थापन तर्फ होटल व्यवस्थापनको कार्यक्रम पनि संचालित छ ।
शिक्षा क्षेत्रमा लामो समय अनुभव हासिल गरेका प्रध्यापकहरूको एउटा समूहले संचालन गरेको विद्यालयमा वातानुकुलित कक्षा कोठा, प्रोजेक्टर लगायतका आधुनिक सामग्री जडित छन् । विद्यालयमा हजारौँ पुस्तक र अध्यायन सामग्रीहरू सहितको पुस्तकालय सञ्चालनमा छ । होटल म्यानेजमेन्टमा अध्यायन गर्ने विद्यार्थीहरुलाई तीनतारे र पाँच तारे होटलहरुमा समेत प्रयोगात्मक कक्षाको लागि लैजाने गरिएको प्राचार्य थापाले बताए ।


