चितवन। भरतपुर महानगरपालिका पछिल्लो समय मनोरञ्जन क्षेत्र मार्फत् हुने मानव बेचबिखनमा नेपाल कै तेस्रो स्थानमा रहेको छ । काठमाडौ र पोखरापछिको मुख्य मनोरञ्जन व्यवसायको क्षेत्रमा भरतपुर तेस्रो रहेकोे एक अध्ययनले देखाएको हो ।
सामरी उत्थान सेवा नामक संस्थाले बिहीबार भरतपुरमा गरेको मनोरञ्जन क्षेत्र मार्फत् हुने मानव बेचबिखनसम्बन्धी एक दिने गोष्ठीमा भरतपुर महानगरपालिका मनोरञ्जन क्षेत्र मार्फत् हुने मानव बेचबिखनमा काठमाडौँ र पोखरापछिको तेस्रो स्थानमा रहेको पाइएको हो ।
संस्थाले २०७८ सालमा चितवनको राप्ती, माडी र भरतपुर क्षेत्रमा गरी ४२० घरधुरीमा सर्वेक्षण गरेको थियोे । जस अनुसार त्यस क्षेत्रबाट ९ दशमलब चार प्रतिशत महिला तथा बालिका विभिन्न मनोरञ्जन क्षेत्रमा कार्यरत रहेको पाइएको छ । जसमध्ये ८५ दशमलब ५ प्रतिशत श्रमिकहरुले आफूहरु माथि शोषण हुने गरेको बताएका छन् । सर्वेक्षण अनुसार यस क्षेत्रमा १३ दशमलब ६ प्रतिशत श्रमिकहरु १० देखि १४ वर्षका बालबालिकाहरु रहेको देखिएको छ ।
नेपालमा मानव बेचबिखनबाट प्रभावित हुनेहरु मध्ये ६८ दशमलब ४९ प्रतिशत घटनाहरु आन्तरिक मानव बेचबिखनसँग सम्बन्धित रहेको सामरी उत्थान सेवाका अध्यक्ष बिमला गायकले बताइन् । ‘जसमध्ये आन्तरिक मानव बेचबिखनको सबैभन्दा ठूलो क्षेत्र बयस्क मनोरञ्जन क्षेत्र भएको छ, यसले नेपालमा हुने मानव बेचबिखनको सबैभन्दा धेरै अर्थात् १८ प्रतिशत हिस्सा ओगटेको छ’ अध्यक्ष गायकले भनिन् ।
पछिल्लो समय होटल तथा रेस्टुरेन्ट, खाजा घर, दोहोरी साँझ, गजल घर, डान्स बार, हुक्का बार, मसाज सेन्टर जस्ता स्थल आन्तरिक मानव बेचबिखनका क्षेत्र बन्दै गएका छन् । जिल्लामा करिब ६५० वटा होटल, भरतपुर र रत्ननगरमा गरी करिब ५०० वटा होटलहरु र झण्डै ७५० वटा रेस्टुरेन्ट रहेको संस्थाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै गरी भरतपुर र रत्ननगरमा ९ वटा दोहोरी साँझ, तीन वटा मसाज सेन्टर र एउटा क्लब सञ्चालनमा रहेका छन् ।
नेपालका प्रमुख शहरहरुमा क्याबिन रेस्टुरेन्ट, दोहोरी साँझ, डान्सबार, मसाज सेन्टर, पार्लर जस्ता मनोरञ्जन केन्द्रमा यौन शोषणका गतिविधिहरु बढ्दै गएको र बढ्दो बयस्क मनोरञ्जन ब्यवसायले आन्तरिक मानव बेचबिखन तथा ओसारपसारका घटनामा वृद्धि भएको सामरी उत्थान सेवाका कार्यक्रम संयोजक शिवहरि ज्ञवालीले बताए । त्यस्तै त्यस्ता व्यवसायमा कम उमेरका किशोरकिशोरीहरुको उल्लेख्य सहभागिता रहेको, श्रम शोषण, यौन दुव्र्यवहार, मौखिक दुव्र्यवहार, बलात्कार प्रयास, शारीरिक सम्पर्कका लागि अनुरोध, अनुचित स्पर्शलगायत कार्यहरु हुने गरेको ज्ञवालीको भनाइ छ ।
गोष्ठीमा भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले मानव बेचबिखनको डरलाग्दो अवस्थालाई समयमै समाधान गर्न नसके यसले भविष्यमा ठूलो दुर्घटना निम्त्याउन सक्ने बताए । उपप्रमुख अधिकारीले मानव बेचबिखनको अवस्था दिन प्रति दिन भयाबह बन्दै गएको भन्दै यसको समाधानका निम्ति चितवनका सातै पालिका जिम्मेवार बन्नु पर्नेमा जोड दिए । उनले मनोरञ्जनका क्षेत्र मार्फत् हुने मानव बेचबिखन पछिल्ला दिनहरुमा थप पेचिलो बन्दै गएको प्रति चिन्ता समेत व्यक्त गरे ।
मानव बेचबिखनका घटना न्यूनीकरणका लागि नेपाल सरकारले दीर्घकालिनरुपमा गरिबी नियन्त्रण गर्ने, रोजगारी सिर्जना गर्ने, सचेतना फैलाउनुका साथै सीमानामा कढाइ गर्ने जस्ता कार्यलाई तीव्रता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कुनै पनि व्यक्तिलाई डर, धम्की, लोभलालच देखाइ शोषण गर्ने उद्देश्यले सो व्यक्तिको इच्छाविपरीत काम गर्न बाध्य तुल्याउने कार्यलाई मानव बेचबिखनको रूपमा लिने गरिन्छ ।
अहिले मानव बेचबिखन नेपालको मात्र नभएर विश्वव्यापी समस्याको रुपमा चित्रण भएको छ । नेपाल जस्तो विकासोन्मुख र बेरोजगारी बढी भएको देशमा अझ बढी समस्या देखा परेको हो । मानव बेचबिखन मानवअधिकार र मानव सम्मान एवम् प्रतिष्ठाको गम्भीर उल्लंघन हो । गरिबी, बेरोजगारी, असमानता, सामाजिक विभेद, लैङ्गिक विभेद, अस्थिरता, हिंसा, न्यून चेतनास्तर, सामाजिक सशक्तीकरणको अभाव, पारिवारिक विघटनलगायतलाई मानव बेचबिखनको मुख्य कारकका रुपमा लिन सकिन्छ ।
गोष्ठीमा चितवनका सातै पालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक, सदस्यहरु, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलगायतको सहभागिता रहेको थियोे । सामरी उत्थान सेवाले चितवन जिल्लाको माडी नगरपालिका र भरतपुर महानगरपालिकामा मनोरञ्जन क्षेत्रमा हुने शोषण र मानव बेचबिखनको जोखिम न्यूनीकरणका लागि जिविकोपार्जन सुरक्षा परियोजना सञ्चालन गरिरहेको छ ।


