चितवन । रत्ननगर नगरपालिका वडा नं ७ का ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग तथा एकल महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
चितवन मुटु अस्पताल, लायन्स क्लव अफ चितवन मुटु र नेपाल ह्दयरोग निवारण प्रतिष्ठान चितवनको सहयोगमा वडा कार्यालयले निःशुल्क स्वास्थ्य परीक्षण शिबिर आयोजना गरेको वडा सचिव बासुदेव रिजालले जानकारी दिए । शिविरमा १८० जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
शिविरमा चितवन मुटु अस्पतालका प्रमुख बरिष्ठ मुटुरोग विशेषज्ञ डा.शंकर पौडारीको टिमले ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग तथा एकलमहिलाहरुको स्वास्थ्य परीक्षण गरेको हो । शिविरमा मुटुको इको समेत गरिएको थियो । उद्घाटन कार्यक्रममा वडाध्यक्ष सजना महतोले वडाबासीको स्वास्थ्य सुरक्षाको लागि शिविर आयोजना गरिएको बताए ।
शिविरमा स्वास्थ्य परीक्षणसंगै फलफुल समेत वितरण गरिएको वडासदस्य राजु आचार्यले जानकारी दिए । वडा स्तरीय ज्येष्ठ नागरिक मञ्जका अध्यक्ष गोविन्द प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा भएको थियो ।

