चितवन । वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिन्छु भनी एक युवतीलाई ३० लाख रुपैयाँ ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं–४ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं–१ लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन, काठमाडौँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाएको हो ।
लाजिम्पाटस्थित माझी बिस्ट्रो रेस्टुरेन्टका सञ्चालकसमेत रहेका रेग्मीले अमृता गुरूङ नाम गरेकी युवतीबाट अस्ट्रेलियामा मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाइ पटकपटक गरी ३० लाख रुपैयाँ रकम लिई फरार भएका थिए ।
वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराउन पत्राचार भएपछि निज रेग्मीलाई काठमाडौँ महानगरपालिका वडा नं–१, दरबारमार्गबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

