चितवन । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा प्रजनन रुग्णता स्वास्थ्य सेवाअन्तर्गत प्रसव फिस्टुला तथा भिआइए परीक्षणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम रत्ननगरको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले साउनदेखि पुससम्मको प्रसूतिसम्बन्धी कार्यप्रगति पेश गर्दै दक्ष स्वास्थ्यकर्मी–ारा अस्पतालमा प्रसूति गराउनेको संख्या बढ्दै गएको, घरघरमा पुगेर गर्भवती परीक्षण गरेका कारण चारपटक सुत्केरी जाँच गर्नेको संख्या पनि बढेको जानकारी दिए ।
रत्ननगरमा ३० वर्षदेखि ६० वर्ष उमेरका महिलालाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ कार्यक्रम गर्न नगरभित्रका स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण गरिएको बताए । विश्वमा तीन लााख महिला पाठेघरको क्यान्सरबाट मृत्यु भएको तथ्याङ्क प्रस्तुत गर्दै जनस्वास्थ्य अधिकृत पौडेलले समयमै रोग पत्ता लगाउन सकिए प्रसव फिस्टुला निको हुने भएकाले बछौली र पिठुवा स्वास्थ्यचौकीमा भिआइए स्क्रिनिङ गरिने जानकारी दिए ।
कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका नर्सिङ अधिकृत विष्णुकुमारी श्रेष्ठले प्रशिक्षणको क्रममा एकसय जना फिस्टुला भएका महिलामध्ये ९५ जनामा प्रसव फिस्टुलाको समस्या रहेको बताइन् ।
उनले लामो समय प्रसव व्यथा लाग्दा सुत्केरीलाई घरमै राख्नु, प्रसूति सेवा नपाउनु, घरमै सुत्केरी गराउँदा जटिल संक्रमण हुनु, भ्याकुम डेलिभरी, बलपूर्वक यौनसम्पर्कलगायत चोटपटकका कारण पाठेघरको फिस्टुला हुने भएकाले स्वास्थ्यकर्मीले नियमित गर्भ जाँच तथा स्वास्थ्य संस्थामै सुत्केरी गराउन समाजमा सचेतना दिनुपर्ने बताइन् ।
काठमाडौँको मोडल अस्पतालमा फिस्टुलाको निःशुल्क उपचार हुने र बिरामीलाई यातायात तथा खानाको समेत व्यवस्था हुने भएकाले गाउँसमाजमा लुकेर बसेका फिस्टुलाको समस्या भएका महिलालाई उपचारका लागि प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो ।
रत्ननगर नगरपालिकाका सामाजिक विकास संयोजक बालकृष्ण चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखाका नरहरि श्याम शर्माले सहजीकरण तथा रुकमाया शर्माले कार्यक्रमको सञ्चालन गरेका थिए ।

