चितवन । रत्ननगर नगरपालिका नगर शिक्षा समितिको आयोजनामा विद्यालय शिक्षाको समीक्षा तथा भावी कार्यदिशा निर्धारणसम्बन्धी बृहत् शैक्षिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको अध्यक्षता एवं नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाभित्रका २९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षा समितिका संयोजकसमेत रहेका नगरप्रमुख सापकोटाले बालबालिकाहरुको भविष्य बोकेर हिँड्ने शिक्षकहरुले शैक्षिक गुणस्तर कायम राख्दै विद्यार्थीहरुको सिकाइलाई प्रभावकारी तुल्याउन आग्रह गरे । उनले नगरपालिकाले आग्रह पूर्वाग्रह नराखी शिक्षकहरुलाई समान व्यवहार गर्दै आएको र शैक्षिक सुधारकै लागि दरबन्दी मिलान गरिएको प्रष्ट पारे ।
विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको रचनात्मक सुझावका आधारमा विद्यालय शिक्षाको भावी कार्यदिशा निर्धारण गरिने भएकाले नगरपालिकाले गर्नुपर्ने शैक्षिक सुधारका लागि सबैले आआफ्ना रायसुझाव शिक्षा समितिलाई दिनसमेत उनले अनुरोध गरे ।
सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंले विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको त्रिकोणात्मक सम्बन्धबाट विद्यालय सुधार गर्न सकिने बताउँदै सम्बन्धित वडाध्यक्ष र शिक्षा समितिबाट नियमित अनुगमन र समन्वय भइरहेको जानकारी दिए ।
सहभागी प्रधानाध्यापक तथा शिक्षकहरुले राखेका जिज्ञासाको जवाफ दिँदै कार्यक्रमका सहजकर्ता नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले सहभागीहरुबाट प्राप्त रायसुझावलाई समेटर नगरपालिकाले शिक्षा नीति बनाउने बताए । उनले शैक्षिक गुणस्तर सुधारका लागि यसै वर्षदेखि कक्षा आठको परीक्षामा होम सेन्टर नराखिएको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, शिक्षा अधिकृत राजेन्द्र बराल, शिक्षा समिति सदस्य नेत्रप्रसाद घिमिरे, अम्बिका लम्साल, नेपाल शिक्षक संघ रत्ननगरका अध्यक्ष दधिराम पौडेल, नेपाल शिक्षक संगठन रत्ननगरका अध्यक्ष रमेश आचार्यलगायतको सहभागिता रहेको थियो ।

