चितवन । रत्ननगर नगरपालिकाको आयोजनामा ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नृत्यसहितको गायन प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम भएको छ ।‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ विषयक प्रतियोगितामा रत्ननगरभित्रका १३ महिला तथा बालबालिका समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा स्काइराइडर आमाविका बाल क्लब प्रथम, शान्तिकुञ्ज सामुदायिक महिला उद्यमी समूह द्वितीय, श्रीकृष्ण प्रणामी बाइजु राज समिति तृतीय, मेलमिलाप समिति चौधरी समूहले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा विजयी तथा सहभागी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा रत्ननगर बाल सञ्जालले सामाजिक सञ्जालको दुरुपयोग र महिला हिंसासम्बन्धी सडक नाटक प्रस्तुत गरेका थिए भने थारु युवतीहरुले स्टिक डान्समार्फत सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
प्रतियोगितामा अनिता पौडेल, शोभा ज्ञवाली र रिष्मा चौधरीले निर्णायकको भूमिका निभाएका थिए । प्रतियोगितामा रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापा, एमाले नेत्री ज्वाला पुरी वन, कांग्रेस नेत्री अनिता अर्याल र राप्रपाकी नेत्री सरस्वती सेढाईंले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षता एवं असहाय वृद्ध समाजकल्याण समाज रत्ननगरकी संस्थापक नीरकला शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगरउपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगरशिक्षा अधिकारी बद्रिनारायण शर्मा, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका महिला कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख सापकोटाले समाजमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै रत्ननगर नगरपालिकाले महिलालक्षित विभिन्न तालिम गर्दै आएको र महिलालाई आत्मनिर्भर बनाउन जस्तोसुकै भूमिका खेल्न तत्पर गरेको बताए ।
रत्ननगर–६ की कार्यपालिका सदस्य एवं लक्षित वर्गको व्यवस्थापन समितिकी संयोजक बबिता चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख दीपा घिमिरेले कार्यक्रम सञ्चालन गरेकी थिइन् । करिब ३०० जना महिलाको सहभागिता रहेको कार्यक्रममा महिलाहरुले नाचगान गर्दै खुसियाली साटेका थिए ।


