चितवन। जलदेवी सामुदायिक वनका अध्यक्षसहित ५ जना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ ।
सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन समिति संयोजकसहितका पाँच पदाधिकारीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको सव–डिभिजन अधिकृत शान्ति शर्माले जानकारी दिइन् ।
वन ऐन विरुद्ध हुने गरी ४८ क्युफिट सालको चिरान काठ अवैध रुपमा लुकाएर राखेको भेटिएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरिएको शर्माले बताइन् ।
पक्राउ पुर्जी जारी सबै जना फरार छन् । फरार भएका उनीहरुको खोजी गर्न सशस्त्र वन रक्षकहरुलाई परिचालन गरिएको छ ।
डिभिजन वन कार्यालय चितवनले शुक्रबार ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको थियो । भरतपुर आँपटारी नजिकै रहेको यो सामुदायिक वनमा काठ काटेर लुकाएको सूचना आएपछि गत मंसिर २३ गते रवि लामिछानेसहित डिभिजन वन कार्यालयका कर्मचारीहरुले काठ बरामद गरेका थिए ।
‘जलदेवी सामुदायिक वनले पर्यापर्यटन कार्यक्रम अन्तरगत जिप लाइन सञ्चालन गरेको छ । त्यसको टिकट काउण्टरमा सालको काठ राखिएको सूचनाका आधारमा चेक गर्दा हामीले ४८ क्युफिट चिरान काठ पायौं,’ डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले भने, ‘अनुसन्धान गर्न काठ बरामद गरेका छौं ।’
डिभिजन वन कार्यालयबाट स्वीकृती लिएर मात्रै काठहरु काट्नुपर्नेमा वन समितिका पदाधिकारीहरुले त्यसको उल्लंघन गरेको आरोप लागेको छ ।
तर जलदेवी सामुदायिक वनका पदाधिकारीले भने पर्यापर्यटनको विकासका लागि समितिबाट निर्णय गरेर सालको काठ राखिएको दाबी गर्दै आएका छन् ।

