चितवन । भरतपुर महानगरपालिका–४ धर्मचोकस्थित श्रीवैकुण्ठनाथ परमवैदिक विद्या प्रतिष्ठानम् (गुरुकुल)को अक्षयकोष स्थापनार्थ महायज्ञ महोत्सव हुने भएको छ । गुरुकुल सञ्चालनका लागि आर्थिक अभाव भएपछि माघ २१ गतेदेखि फागुन ६ गतेसम्म श्रीलक्ष्मी वैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव हुन लागेको हो ।
महायज्ञको प्रथम चरण माघ २२ देखि २८ गतेसम्म यशोदादेवी ‘कौण्डिन्य’ माता र द्वितीय चरण माघ २९ देखि फागुन ६ गतेसम्म भगवत् कथावाचक ईश्वरकृष्ण महाराजले प्रवचन दिने आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महायज्ञको उद्घाटन अघि माघ २० गते मोटरसाइकल ¥याली निकाल्ने र महायज्ञको पहिलो दिन माघ २१ गते लीला–झाँकीसहित विशाल शोभायात्रा निकालिने आयोजकले जनाएको छ ।
महायज्ञ आयोजना गर्न करिब ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको महायज्ञ संयोजक तथा गुरुकुल सञ्चालक समितिका अध्यक्ष तुलसीराम सापकोटाले बताए । महायज्ञबाट ११ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । गुरुकुलमा अहिले देशका विभिन्न क्षेत्रबाट आएका ५५ जना विद्यार्थीहरूले आवास भोजनसहित निःशुल्क शिक्षा लिइरहेको आयोजकले जनाएको छ ।

