चितवन। चितवनको भरतपुर अन्तर्गत एकै ठाउँका ५ वटा ताल पर्यटकको पर्खाइमा छन। भरतपुर महानगरपालिका वडा नं ८ र ९ मा पर्ने वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वन अन्तर्गतका ५ ताल प्राकृतिक रूपले भरिपूर्ण छन् तर पनि पर्यटनको केन्द्र भने हुन सकेका छैनन् ।
ती तालहरू विश्व सम्पदा सूचीमा सूचीकृत बिसहजारी ताल परिसरमा छन । जुन विकास ताल, वेदघारी ताल, कालीमाटी ताल, न्युरे ताल र रातामाटे ताल हुन्। बिसहजारी ताल नामले नै प्रसिद्ध भएपनि यी ५ ताल भने ओझेलमा परेका छन्।
हाइवेसंग जोडिएको पहिलो ताल विकास ताल हो। जुन नागवेली आकारको छ। जसको लम्बाई ८ सय मिटर र चौडाइ ४० मिटर रहेको छ। दोस्रो वेदघरी ताल हो। यी ५ तालहरू मध्ये यसलाई सबैभन्दा राम्रो ताल मानिन्छ । वेदघारी ताल आफैमा प्राकृतिक रूपले सौन्दर्यमूलक छ। बढी मानिसको चापमा नपरेको हुनाले पनि चारैतिर जंगलले घेरिएको छ जसले यसको सौन्दर्य बढेको छ। यस तालमा पानीको सतह पनि अन्यको भन्दा राम्रो छ। जंगली जनावरहरू पनि आफ्नो तिर्खा मेट्नको लागि वेदघारीमा नै आउने गर्दछन्।
त्यस्तै अर्को कालीमाटी ताल हो। यस तालको बीचमा माटोको ढिस्को छ जसलाई व्यवस्थापन गरेर सेल्फी पोइन्ट बनाइने योजना भएको छ। यस तालमा २ वटा डुङ्गा सञ्चालनमा आएका छन् । यस तालमा करौते झार बढी पाइएको र पानीको सतह सुक्दै गइरहेको हुनाले सफाई गरेर व्यवस्थापन गर्न लागिएको छ। उक्त क्षेत्रलाई बढी प्राथमिकता दिएर आरामदायी बेच्न, ट्वाइलेट लगायतका संरचना बनाएर पर्यटक भित्र्याउने योजना बनाइएको छ । तालको वरिपरि जंगली जनावर पनि हुने भएकाले पर्यटकको सुरक्षा र जनावरलाई सहजता हुने गरी नै व्यवस्थापन गर्न लागिएको छ। त्यस्तै अर्को न्यूरे ताल र रातोमाटे ताल हुन् ।
चारैतिर घना जंगल र जङ्गलको बीच बीचमा थरिथरिका तालहरू भएको क्षेत्रमा बँदेल, मृग, गैंडा जरायो, बाघ र विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न सकिन्छ।
आन्तरिक तथा बाह्य पर्यटकलाई एकै पटक ५ वटै तालको अवलोकन गराउने योजना रहेको वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो।
सोही क्षेत्रमा पर्ने बिस हजारी तालमा आउने पर्यटकले बुझाएको शुल्कबाट ८ वटा वन समितिले २० प्रतिशत पाउने गरेको बताउँनुभयो। बिस हजारी तालसँगै यी ५ ताल पनि उत्तिकै सुन्दर र प्राकृतिक भएकाले यी ताल पनि आन्तरिक पर्यटनको गन्तव्य हुनुपर्ने बताउनुभयो। जंगलबाट काठ, दाउरा बेचेर मात्र वनका उपभोक्तालाई आयआर्जन पुर्याउन नसकिएपछि त्यस क्षेत्रलाई पर्यटनको गन्तव्य बनाउन लागिएको बताउनुभयो।
विभिन्न स्थानबाट आउने पर्यटकलाई जिप सफारी मार्फत ५ वटा ताल देखाएर, डुङ्गा सयर गराएर हाइवेमा निक्लिन सक्नेगरी व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो। साथै होमस्टेको पनि व्यवस्थापन गरिने हो भने उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यको मुख्य केन्द्र बनाउन सकिने बताउँनुभयो।विष्णु गौतम

