चितवन । नागरिकता प्रमाणपत्र नहुँदा सहुलियत उपचारमा समस्या खेप्नुपरेका माडीका क्यान्सर पीडित एक बिरामीलाई अस्पतालमै पुगी नागरिकता प्रमाणपत्र प्रदान भएको छ ।
ईलाका प्रशासन कार्यालय माडीले माडी-६ निवासी क्यान्सर पीडित किशोर निरज विश्वकर्मालाई उहाँ उपचाररत बि.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमै पुगी नागरिकता प्रमाणपत्र प्रदान गरेको हो ।
शुक्रबार प्रशासन कार्यालय प्रमुख चित्ररेखा सिलवालले भरतपुरस्थित सो अस्पतालको बेडमै बिरामी विश्वकर्मालाई नागरिकता हस्तान्तरण गर्नुभयो । वडाध्यक्ष दीपेन्द्रराज पौडेलको विशेष पहल र माडीका नगर प्रमुख ताराकुमारी काजी महतोको उपस्थितिमा अस्पतालको बेडमा पुगी नागरिकता प्रदान भएको हो ।
क्यान्सर पीडित विश्वकर्माले नागरिकता पाएसंगै उहाँका आमा मधुमाया विश्वकर्माले भावुक हुँदै धन्यवाद व्यक्त गर्नुभयो । अब क्यान्सरको उपचारमा अस्पताल र राज्यबाट पाईने सहुलियत प्राप्त गर्न सहज हुने भन्दै उहाँले बिरामीको उपचारमा थप सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।


