चितवन। शान्तिको किचन चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्मृति खुला नकआउट फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा हाइलाइट युथ क्लबलाई १–० ले पाखा लगाउँदै शान्तिको किचनले सेमिफाइनलमा स्थान बनाएको हो । उसको जितमा कर्मा शेर्पाले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३औँ मिनेटमा कर्माले गोल गरे । उक्त गोल नै शान्तिको किचनलाई सेमिफाइनलमा स्थान बनाउन पर्याप्त भयो । निर्णायक गोल गरेका कर्मा नै म्यान अफ दी म्याच चुनिए ।
प्रतियोगितामा शनिबार भरतपुर-८ गौरीगन्ज र कठार एफसी भिड्नेछन् । जनयुद्धमा सहादत प्राप्त गर्ने शहीदहरुको सम्झनामा प्रतियोगिता आयोजना भएको हो । माघ १९ गतेसम्म हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए ।

