चितवन । भरतपुर-१, रामनगरमा सरस्वती पूजाको अवसरमा मोक्षदाता गणेश मन्दिर, देउरालीदेवी मन्दिर र मीना स्मृति चौतारीको एक समारोहबीच उद्घाटन गरिएको छ ।
पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) ज्ञानेन्द्रविक्रम महत अध्यक्ष रहेको मीना स्मृति प्रतिष्ठान नेपालले निर्माण गरेको देउरालीदेवी मन्दिर, लखन पार्कमा रहेको मीना स्मृति चौतारी र रामनगर पुष्पबाटिकामा मोक्षदाता गणेश मन्दिर बिहीबार एकैसाथ उद्घाटन गरिएको हो ।
पूर्वडिआइजी महतका स्वर्गीय श्रीमती मीना महतको स्मृतिमा वार्षिक तिथिको अवसरमा निर्माण भएका मन्दिरहरु र चौतारीको २५ लाख रुपैयाँ लागत लागेको मीना स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष महतले जानकारी दिए ।
उनले श्रीमती भौतिकरूपमा नरहे पनि मन्दिर, पार्क र चौतारीको रुपमा सधैँ आफूसँगै हुने बताए । प्रहरीको जागिरे अवधिमै समाजसेवा गर्नुपर्छ भन्ने भाव सेवा निवृत्त हुँदा पनि जागृत रहेकोले आफू यस क्षेत्रमा निरन्तर सामाजिक काममा लागेको उनले स्पष्ट पारे ।
कार्यक्रममा प्रहरी शिक्षालयका डिआइजी दुर्गा सिंह, व्यवसायी राजेन्द्र अर्याललगायतले महत परिवारको समाजिक कार्य सबैका लागि प्रेरणाको स्रोत बनेको बताए ।
विसं २०११ साल साउन २९ गते जन्मिएकी सामाजिक कार्यमा अग्रसर मीना महतको २०७७ चैत २८ गते निधन भएको थियो । उनको दीर्घरोगका कारण निधन भएको थियो । मीनाले नेपाली सेनाअन्तर्गत हेलिकप्टर सेवामा फ्लाइट अप्रेसन अधिकृतका रुपमा २५ वर्ष सेवा गरेकी थिइन् । उनले प्रहरी परिवार महिला संघ पश्चिमाञ्चलको अध्यक्षको भूमिकासमेत निर्वाह गरेकी थिइन् ।


