चितवन । सिएमसी क्यान्सर इन्स्टिच्यूटले क्यान्सर रोगको पहिचान, उपचार र परीक्षणमा महिनौं लामो पालो कुर्न नपर्ने जनाएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी अत्याधुनिक उपकरण र दक्ष चिकित्सक सहित सर्वसुलभ क्यान्सर उपचार सेवा दिने जनाएको हो ।
भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाका रुपमा “सिएमसी क्यान्सर इन्स्टिच्यूट” सञ्चालन गरेको छ । क्यान्सर इन्स्टिच्यूटको भोलि माघ १२ गते औपचारिक उद्घाटन हुन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. दयाराम लम्सालले रेडियसनसँगै ब्राकिथेरापी, स्पेक्ट सिटी स्क्यान लगायत क्यान्सर उपचारमा आवश्यक अत्याधुनिक उपकरण जडान गरिएको बताउनुभयो । उहाँले क्यान्सरको उपचारका लागि महिनौं पालो कुर्नुपर्दा क्यान्सर झनै फैलिन सक्ने र त्यसले उपचारमा समेत समस्या खडा गर्न सक्ने भएकाले क्यान्सर पहिचान हुँदासाथ उपचार शुरु गर्ने बताउनुभयो ।
शुरुकै अवस्थामा क्यान्सर पहिचान गरेर उपचार गर्ने बताउँदै उहाँले भन्नुभयो “अन्तिम अवस्थामा पुगेका बिरामीहरुलाई प्यालिएटिभ केयर सेवा समेत दिनेछौं ।” सरकारी क्यान्सर अस्पतालहरुमा लिईने शुल्कमा नै यहाँ पनि उपचार हुने बताउँदै डा. लम्सालले थप्नुभयो “रेडिएसन (सेक्न) पालो कुर्न पर्दैन, हामीले एकै दिन एक सय जनासम्मलाई यो सेवा दिन सक्छौं ।”
क्यान्सर इन्स्टिच्यूटमा भारत, अमेरिका, चीनमा क्यान्सर उपचारमा काम गर्नुभएका अनुभवी विशेषज्ञ चिकित्सकले उपचार गर्ने लम्सालले जानकारी दिनुभयो । उहाँले अगाडि थप्नुभयो “नेपाली चिकित्सकहरु विदेशमा काम छोडेर यहाँ आउनु भएको छ । अरु पनि आउने क्रममा हुनुहुन्छ ।” आफूहरुले अत्याधुनिक प्रविधि भित्र्याएका कारण विदेशमा काम छोडेर चिकित्सकहरु यहाँ आउने चाहना राखेको डा. लम्सालको भनाई छ ।
पत्रकार सम्मेलनमा कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले नेपाल सरकारले तोकेको विपन्न उपचार शुल्कमम क्यान्सरको उपचार हुने बताउँदै सरकारले क्यान्सर उपचारका लागि दिने एक लाख, बागमती प्रदेश सरकारले उपलब्ध गराउने पचास हजार बराबरको उपचार सुविधा निःशुल्क पाउने जानकारी दिनुभयो । उहाँले सामाजिक सुरक्षा कोष मार्फत् हुने उपचारमा पनि अस्पतालले दिने बताउनुभयो ।
इन्स्टिच्यूटका रेडिएसन अंकोलोजिष्ट डा. सुवास ठाकुरले रक्तक्यान्सर बाहेक सम्पूर्ण क्यान्सरको परीक्षण र उपचार भईरहेको जानकारी दिनुभयो । उहाँले क्यान्सरका बहिरङ्ग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा संचालनमा रहेको बताउनुभयो ।
क्यान्सरको उपचारका लागि भारत लगायत विदेशी मुलुक जानुपर्ने अवस्थाको अन्त्य भएको भन्दै डा. ठाकुरले इम्युनोहिस्टोकेमिस्ट्री (आईएचसी टेष्ट–बायोप्सी परीक्षणका नमूनाहरुमा विशेष किसिमको परीक्षण) समेत यही हुने बताउनुभयो । चितवन मेडिकल कलेजमा यस अघिनै ए ग्रेडको प्रयोगशाला रहेको बताउँदै उहाँले क्यान्सरको विशेष प्रयोगशाला सञ्चालनको अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो ।

