काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी जेठसम्म देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय, बसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो।
साथै, पार्टीको निर्णय अनुसार आगामी चैतसम्ममा जिल्ला निर्वाचन समितिहरूको गठन, जेठ मसान्तसम्म पालिका र वडास्तरिय समितिहरू गठन गर्ने रणनीति तय भएकाे छ।पार्टी प्रवक्ता मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार माघ मसान्तसम्म पार्टीले सातवटै प्रदेशमा समितिहरु पुनर्गठन गर्ने कार्यक्रम समेत तय गरेको छ।
माघ १४ गते प्रदेश १ को विराटनगर, १६ गते मधेशको जनकपुर, १८ गते बागमतीको मकवानपुर, २१ गते गण्डकीको पोखरा, २४ गते लुम्बिनीको दाङ, २६ गते सूदुरपश्चिमको धनगढी र २८ गते कर्णालीको सुर्खेतमा पुनर्गठन कार्यक्रम राखिएको ढकालले बताएका छन्।
त्यस्तै, पार्टीको विधान बमोजिम विभिन्न केन्द्रीय आयोग, विभाग तथा समितिहरु पनि गठन भएको छ। केन्द्रीय निर्वाचन आयोग मा नारायण प्याकुरेल, केन्द्रीय लेखा आयोगमा अभिषेक घिमिरे रहेका छन्।
त्यस्तै, केन्द्रीय अनुशासन तथा आचरण समितिमा ३ सदस्यीय बनेको छ। डा. भरतमणि देवकोटाको नेतृत्वमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने सदस्य रहेको अनुशासन तथा आचरण समिति बनेको छ।


