चितवन । चितवन महोत्सव परिसरमा आयोजना गरिएको मेड इन नेपाल एक्स्पो २०७९ मा स्टार्टअप बिजनेशमध्ये ‘आवर क्लोजेट’ उत्कृष्ट घोषित भएको छ । एक्स्पोमा राखिएका १० वटा स्टार्टअप बिजनेशमध्ये डा सन्ध्या कँडेलले सञ्चालन गरेको ‘आवर क्लोजेट’ उत्कृष्ट घोषित भएको हो । उत्कृष्ट नवउद्यमी भएर कँडेलले नगद एक लाख रुपैयाँ पुरस्कार हात पारेकी छन् ।
एक्स्पोको आयोजक नेपाली युवा उद्यमी मञ्च चितवनले नव उद्यमीबीच प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धामा छ जना नवउद्यमी सहभागी थिए । डा कँडेलले व्यवसायको बारेमा दिएको प्रस्तुतीका आधारमा उत्कृष्ट घोषित गरिएको हो । प्रतिस्पर्धाको निर्णायकमा नेपाली युवा उद्यमी मञ्चका केन्द्रिय सदस्य एवम् चितवनका पूर्व अध्यक्ष कृष्ण प्रसाद सापकोटा, मञ्चका सदस्य एवम् सिए निशान पौडेल र सिए विशाल भट्टराई रहेका थिए ।
कँडेललाई बुधबार एक कार्यक्रमका बीच नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिने नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए । आवर क्लोसेटले महिला तथा पुरुषले लगाउने कपडा भाडामा उपलब्ध गराउने गरेको छ । विवाह तथा विभिन्न पार्टीमा लगाउने महंगा कपडा भाडामा उपलब्ध गराइने र त्यसबापत निश्चित शुल्क लिइने कँडेलले बताइन् ।

