चितवन । शारदानगरमा रहेको नेपालकै पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी संस्थाको ६६औँ साधारण सभा शनिबार भएको छ ।
संस्थाका संरक्षक एवं बखानसिंहका नाति चन्द्रध्वज गुरूङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै संरक्षक गुरूङले बखान सहकारीको संरक्षण, संवर्द्धन र विकासमा सरकारले ध्यान नदिएको गुनासो गरे ।
राजा महेन्द्रले बहुदलीय शासन व्यवस्थाको घाँटी निमोठ्दा बखान सहकारीको पनि घाँटी निमोठेर अस्तित्व नै धराप पार्नेगरी आगजनी गरिदिएको उनले बताए । बखान सहकारी सम्पूर्ण सहकारीकर्मीहरुको लागि तीर्थस्थल हो, यसको संरक्षण र प्रवर्द्धन गर्ने जिम्मा सबै सहकारीप्रेमीहरुको रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहकारीका सचिव शेषबहादुर विश्वकर्माले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बुद्धिबहादुर गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका अध्यक्ष भक्तबहादुर गुरूङले संस्थाको आगामी आर्थिक वर्षको निम्ति नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष देवी थापामगर, लेखा समिति संयोजक शिवबहादुर भण्डारी, संस्थाका सल्लाहकारहरु तोपमानसिंह गुरूङ, भोजराज कौडेल, वेलबहादुर गुरूङ, झंकमान राई पूर्वअध्यक्ष सुवेदार हुमबहादुर क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा संस्थाका सल्लाहकार आशबाहादुर लामा, बखान सहकारीका एकमात्र जीवित संस्थापक सदस्य इन्द्रजीत गुरूङ, संस्थाकी ज्येष्ठ शेयर सदस्य एकल महिला नैनकुमारी गुरूङ, असल बचतकर्ता ज्ञानु गुरूङ तथा पूर्वअध्यक्ष विचराज गुरूङलाई सम्मान गरिएको थियो ।

