चितवन । सामुदायिक रेडियो देवघाट १०२.६ मेघाहर्जले आफ्नो १२औँ बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । रेडियो देवघाटले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी १० दिनसम्म विभिन्न कार्यक्रम गर्न लागिएको बताएको हो ।
रेडियोले पुस २७ गते देवघाटका विभिन्न आश्रममा फलफुल वितरण गर्ने जनाएको छ । पुस २८ गते धमार्थ हस्पिटलमा निःशुल्क दन्त शिविर, पुस २९ गते देवघाट गाउँपालिकमा रहेका सामुदायिक वनसँग अन्तरक्रिया, पुस ३० गते जनप्रतिनिधिसँग नयाँ देवघाटको विषयमा छलफल र माघ १ गते माघे संक्रान्ति विशेष कार्यक्रम गरिने रेडियोका अध्यक्ष विजयराज शर्मा भुषालले जानकारी दिए ।
त्यस्तै, माघ २ गतेदेखि ४ गतेसम्म देवघाटका पाँच वटै वडामा श्रोता सर्वेक्षण गर्ने, माघ ५ गते अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता र माघ ६ गते रेडियो सञ्चालक समिति, शेयर सदस्य र कर्मचारीबीच म्युजिकल चियर प्रतियोगिताको आयोजना गरी पुरस्कार वितरण, सम्मान र समापन कार्यक्रम गरिने भुषालले बताए ।
रेडियो देवघाटले वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने कार्यक्रम २० हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको रेडियो सञ्चालक समितिका महासचिव निरञ्जन हाडाले बताए । रेडियो देवघाट १२ वटा जिल्लाका विभिन्न स्थानमा र अनलाइनको माध्यमबाट विश्वभर सुन्न सकिन्छ ।

