चितवन । पुस २८ देखि माघ ४ गतेसम्म चितवनको खैरहनी नगरपालिकामा हुन गइरहेको थारु खिचरा महोत्सवमा थारु लोकसाहित्यको वहस गराइने आयोजकले जनाएको छ । संयौं पेहनीको सवाल जवाफको रौनक यसवर्ष आठौं खिचरा महोत्सवमा पहिलो पटक देख्न पाइने आयोजक सदस्य कारी महतोले बताए ।
खैरहनी ५, गौचरनमा हुने खिचरा महोत्सवमा थारु लोकसाहित्यलाई जगेर्ना गर्नका लागि “जिल्ला स्तरीय पेहनी होड” कार्यक्रम राखिएको छ । कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनको हरेक क्षेत्रबाट तीन–तीन जनाको एउटा समूह बनाई भाग लिने महतोले बताए । विजेता समूहलाई नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
लोपोन्मुख थारु साहित्य जगेर्नाका लागि खिचरा महोत्सवमा पेहनी होड कार्यक्रम आयोजना गरिन लागेको थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य लक्ष्मणप्रसाद चौधरीले जानकारी दिए । महोत्सवमा भलिबल, चित्रकला, थारु नृत्यलगायत थुप्रै खुला प्रतियोगिताको आयोजना गरिएको चौधरीले बताए । थारु विशेषका लागि पेहनी होड आयोजना गरिएको मूल समिति संयोजक कृष्णलाल चौधरीले बताए । महोत्सवमा थारु परिकार, भेषभुषाको प्रदर्शन गरिने छ ।

