चितवन । नगर वनमा बनेको फोहोरको टापुमाथि कविता वाचन गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । भरतपुर महानगरपालिकाले नारायणी नदीकिनारमा फोहोर डम्प गर्दै आएको कार्यप्रति वातावरण संरक्षणकर्मीले विरोध जनाउँदै आएका छन् । ‘नारायणी बचाऔँ’ अभियानका अभियान्ताले नदीकिनारमा फोहोर पुरेर महोत्सव गर्ने तयारी गरेदेखि विरोध जनाउन थालेका हुन् ।
भरतपुर महानगरले नगर वनमा फोहोर डम्प गर्दा फोहोरको टापु नै बनेको छ । महानगरको विरोध स्वरुप फोहोरको टापुमा कविता वाचन गर्न पुगेका अभियन्तालाई प्रशासनले सुरक्षाकर्मी लगाएर कार्यक्रम गर्न रोक लगाएको हो ।
अभियन्तालाई रोक्न सादा पोसाकमा प्रहरी खटाइएको थियो । निषेधका बीच अभियान्ताहरु फोहोर डम्पिङ साइडमा पुगेर निरीक्षण गरी फर्किएका थिए ।
प्रहरीले डम्पिङ साइडमा प्रवेश गर्न निषेध गरेपछि वडा प्रहरी कार्यालय नारायणगढको कार्यालयअगाडिपट्टि नारायणी नदीको बगरमा अभियन्ताले कविता वाचन गरे । कार्यक्रममा प्रकृतिप्रेमी र वातावरण संरक्षणसम्बन्धी आठवटा कविता वाचन गरिएको ‘नारायणी बचाऔँ’ अभियानका अभियन्ता सागर कार्कीले बताए ।
‘नारायणी नदीमा महानगरले कसरी फोहोर व्यवस्थापन गरिरहेको छ भनेर अभियन्ताहरुलाई देखाउने र एउटा कार्यक्रम पनि गर्ने उद्देश्यले त्यहाँ जान लागेका थियौँ’, उनले भने, ‘मुख्यत त्यहाँको वस्तुस्थिति बुझ्ने योजना थियो । प्रवेश निषेध गरेर मुद्दालाई दबाउन खोजिएको छ ।’
भरतपुर महानगरले विगत १५ वर्षदेखि नारायणी नदीकिनारमा फोहोर डम्पिङ गर्दै आएको छ । फोहोरको उचित व्यवस्थापनका लागि स्यानिटरी ल्यान्डफिल साइट बनाइदिने भनेको कोरियन सरकार पछाडि हटेपछि केन्द्रीय सरकारको बजेटमै ल्यान्डफिल साइट बनाउने योजनामा महानगर पुगेको छ ।

